
गान्तोक, 28 अक्टूबर (हि.स.)। सिक्किमका साहित्यकार हेमराज अधिकारीलाई नेपालमा प्रतिष्ठित 'हेमलता स्मृति लघुकथा सम्मान 2082' द्वारा सम्मानित गरिएको छ। राप्ती नगरपालिका, बागमती प्रदेश, चितवनमा आज सम्पन्न नमस्ते आधुनिक लघुकथा मञ्चको राष्ट्रिय साहित्यिक समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
गान्तोक जिल्लाको तुमिन निवासी अधिकारी नेपाली लघुकथा विधामा स्थापित नाम हुन्। उनको चर्चित लघुकथाकृति 'च्यातिएको जुत्ता' को दोस्रो संस्करण लोकार्पण पनि यही अवसरमा भव्य रूपमा सम्पन्न गरियो। कार्यक्रमका प्रमुख अतिथि डा. चुडामणि बन्धु, प्राध्यापक डा. दयाराम श्रेष्ठ, प्राध्यापक डा. विदुर चालिसे, अध्यक्ष कृष्णजी शर्मा, प्राध्यापक डा. शंकर गैह्रे, काठमाडौंकी गायिका तथा संगीतकार लोचन भट्टराई, साहित्यकार भागिरथी श्रेष्ठलगायत देशका प्रतिष्ठित नेपाली साहित्यकार तथा रचनाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पुरस्कार ग्रहणपछि आफ्नो सम्बोधनमा अधिकारीले भने, 'यो सम्मान मेरो व्यक्तिगत होइन, यो सिक्किम राज्य र सम्पूर्ण भारतीय नेपाली लघुकथाकारहरूको सामूहिक सम्मान हो। नेपाली भाषा र साहित्यको सेतु भारत र नेपालबीच अझ मजबुत बन्नु हाम्रो साझा जिम्मेवारी हो।' उनले साहित्यिक एकता, सांस्कृतिक आदानप्रदान र नेपाली भाषाको अन्तरराष्ट्रिय प्रतिष्ठा विस्तार गर्ने यस कार्यक्रममा नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनको भूमिको सराहना गरे।
हिन्दुस्थान समाचार / बिशाल