वर्षाले किसानहरूलाई पुऱ्याएको क्षतिको आकलन गरेर राहत कोष वितरण गर्नुपर्ने सीएपीको माग
सीएपी किसान तथा सहकारी परिषद् उपाध्यक्ष (प्रभारी) केदारनाथ तिवारी


गान्तोक, 1 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सिक्किमका विभिन्न क्षेत्रहरूमा लगातार दुई दिनदेखि परिरहेको बे-मौसमी वर्षाका कारण राज्यका किसानहरू ठूलो क्षतिको सामना गर्न बाध्य बनेको बताउॅंदै क्षतिको विवरण संकलन गरेर प्रकृतिक विपद् राहत कोष प्रभावित किसानहरूमा वितरण गरियोस् भनी माग गरेको छ।

सीएपी किसान तथा सहकारी परिषद् उपाध्यक्ष (प्रभारी) केदारनाथ तिवारीले आज जारी प्रेस विज्ञप्तिमा भने, वर्षभरको कठिन परिश्रमले उत्पादन गरिएको धान, दाल र अन्य अन्नबालीहरू यस अप्रत्याशित प्राकृतिक विपत्तिले तहसनहस बनाएको छ। धेरै किसानहरूले काटेर थुपारिसकेको धान वर्षाले भिजेर पूर्ण रूपमा नष्ट भएको छ भने, खेतमा पाकेर तयार भएको धानको बाली पनि वर्षाको कारण ढल्न पुगेर खेतमै सुतेको अवस्थामा पुगेको छ। यसले किसानहरूको श्रम, समय र लगानी तीनै कुराको विनाश गरेको छ।

उनले यस अवस्थातर्फ सरकारको ध्यान आकर्षित गर्दै तत्काल क्षति मूल्याङ्कन टोली गठन गरेर वास्तविक किसानहरूको क्षतिको सत्य तथ्य विवरण संकलन गर्न माग गरेका छन्। उनले केन्द्र सरकारबाट प्राप्त प्राकृतिक विपद् राहत कोष पारदर्शी ढङ्गले प्रभावित किसानहरूमा वितरण गरियोस् भनेका छन्। यसैगरी, उनले भविष्यमा यस्ता विपत्तिबाट बच्न कृषि बीमा योजना र पूर्व तयारी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् भनी सुझाउ पनि दिएका छन्।

उनले सरकारको जिम्मेवारी केवल सहानुभूति जनाउने होइन, व्यावहारिक कदम चाल्ने र पीडित किसानहरूलाई तात्कालिक राहत पुर्‍याउने हो भनी बताएका छन्। उनले किसान मात्र उत्पादनकर्ता होइन, राष्ट्रको मेरुदण्ड हो भन्दै किसान बाँच्यो भने मात्र सिक्किम बाँच्नेछ भनेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande