मुख्यमन्त्रीले राज्यको समृद्ध सांस्कृतिक विरासतको रक्षा र सम्मान गर्ने पहलहरूलाई प्रवर्द्धन गर्दै आएका छन्: प्रेस सचिव तामाङ
याेगेन तामाङ


गान्तोक, 1 नोभेम्बर (हि.स.)। सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) ले सिक्किमका आदिवासी आधिकारिक भाषाहरूको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले ई-भाषा सिकाई शृङ्खला शुरु गरेको छ। यो पहल आधिकारिक रूपमा 5 सेप्टेम्बर, 2025 मा मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा आईपीआर विभागद्वारा शुरु गरिएको थियो।

यो शृङ्खलाले डिजिटल र सामाजिक सञ्जाल मञ्चहरूमा प्रसारित छोटो शैक्षिक भिडियोहरू मार्फत सिक्किमका जनता र विश्वव्यापी सिक्किमेली प्रवासी दुवैका लागि भाषा सिकाईलाई पहुँचयोग्य, आकर्षक र अर्थपूर्ण बनाउने लक्ष्य लिएको मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले आज प्रेस विज्ञप्तिमा बताएका छन्।

प्रेस सचिव तामाङले आज यस पहलको संरचना र प्रगति बुझ्न आईपीआर विभागको भ्रमण गरे। भ्रमणको क्रममा उनले विभागका अधिकारीहरूसँग अन्तरक्रिया गरे र यो अद्वितीय भाषिक संरक्षण परियोजनालाई साकार पार्न उनीहरूको समर्पण, रचनात्मकता र नवीन दृष्टिकोणको प्रशंसा गरे।

प्रेस सचिव तामाङले मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको समृद्ध सांस्कृतिक विरासतको रक्षा र यसको सम्मान गर्ने नीति र पहलहरूलाई निरन्तर प्रवर्द्धन गरेको बताएका छन्। उनले भने, मुख्यमन्त्रीको नेतृत्वमा सिक्किमका समुदायहरूको मूर्त र अमूर्त दुवै सम्पदाको संरक्षण गर्न धेरै महत्त्वपूर्ण कदमहरू चालिएका छन्। भाषिक समावेशीताप्रति मुख्यमन्त्रीको गहिरो सम्मान सञ्चार र प्रवर्द्धनका विभिन्न माध्यमहरूमा क्षेत्रीय भाषाहरू प्रयोग गर्नका लागि उनका विभिन्न निर्देशनहरूमा प्रतिबिम्बित हुन्छ।

उनले आईपीआर विभागको प्रभारी मन्त्रीको रूपमा मुख्यमन्त्रीले युवाहरूलाई उनीहरूको भाषिक र सांस्कृतिक जरासँग जोड्न आधुनिक सञ्चार उपकरणहरूको प्रयोगलाई प्रोत्साहित गरेको उल्लेख गरेका छन्। उनले ई-भाषा सिकाई शृङ्खलामा एघार भाषाहरूमा पाठहरू समावेश छन्, जसमा लेप्चा, मुखिया, भोटिया, तामाङ, लिम्बू, राई, शेर्पा, मङ्गर, तिब्बती, गुरुङ र नेपाली तथा नेवारी भाषाका लागि विज्ञहरू भर्ना गर्ने प्रयास जारी रहेको जानकारी गराएका छन्।

प्रेस सचिवले जानकारी गराउॅंदै भने, सोमबारदेखि शुक्रबारसम्म सिक्किम सरकारको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै युट्युब, फेसबुक र इन्स्टाग्राममा प्रत्येक भाषाका लागि नयाँ भिडियोहरू अपलोड गरिन्छन्, जसको प्रबन्धन आईपीआर विभागद्वारा गरिन्छ। यस अतिरिक्त, आईपीआर विभागद्वारा बाह्र क्षेत्रीय भाषाहरूमा प्रकाशित सिक्किम हेराल्डले समावेशीताको अर्को स्तम्भको रूपमा सेवा गरिरहेको छ।

उनले ई-भाषा सिकाई शृङ्खला भाषा केवल सञ्चारको माध्यम मात्र होइन तर पहिचान, सम्पदा र स्वामित्वको जीवन्त अभिव्यक्ति हो भन्ने मुख्यमन्त्रीको विश्वासको प्रतिबिम्ब रहेको जनाएका छन्। यस पहलको माध्यमद्वारा सिक्किमले आफ्नो बहुभाषिक विरासतलाई बलियो बनाउँदै र आफ्ना नागरिकहरूलाई आफ्नो सांस्कृतिक जरासँग जोडिएर रहन प्रेरित गर्दै आएको उनले बताएका छन्।

उनले आईपीआर विभागकी सचिव, विभागका सबै अधिकारीहरू र कर्मचारीहरूलाई उनीहरूको नवीन पहल र 'सुनौलो, समृद्ध र समर्थ सिक्किम' निर्माण गर्ने मुख्यमन्त्रीको मिशन अनुरुप काम गरेकोमा धन्यवाद दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande