
गान्तोक, 12 नोभेम्बर (हि.स.)। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिक्किम च्याप्टरले आज साहित्य अकादेमीको प्रेक्षालयमा नेपाली साहित्यका महान व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती साधारण तर गम्भीर र साहित्यिक माहोलमा मनाएको छ।
कार्यक्रमको अध्यक्षता सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले गरेका थिए। कार्यक्रममा अनेसास सिक्किम च्याप्टरका अध्यक्ष रुद्र पौड्यालले स्वागत मन्तव्य दिँदै देवकोटाको जीवन र कृतित्वमाथि संक्षिप्त प्रकाश पारे। उनले यस्ता साहित्यिक कार्यक्रमहरूले नेपाली भाषाको संवर्धन र साहित्यिक चेतना विस्तारमा योगदान पुर्याउने बताएका थिए।
कार्यक्रममा स्थानीय कवयित्री र कविहरूले मुक्तक, गजल र कविता वाचन गरी कार्यक्रमलाई साहित्यिक र मनोरञ्जक बनाएका थिए। महाकवि देवकोटाको जीवन, व्यक्तित्व र साहित्यिक योगदानमाथि डा. कविता सुब्बाले विस्तृत प्रस्तुति दिएकी थिइन्।
सभाध्यक्ष एसआर सुब्बाले आफ्नो सम्बोधनमा देवकोटालाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली साहित्यमा उनको योगदान अतुलनीय रहेको बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रमले युवा पुस्तालाई पनि समेट्नुपर्ने बताउँदै नयाँ पुस्तालाई महाकविको योगदान र भूमिका बुझ्ने अवसर प्रदान गर्न अनिवार्य रहेको बताए। उनले कार्यक्रममार्फत नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने विषय बुझि उनीहरूको सहभागिता बाक्लो पार्न आह्वान गरे।
केन्द्रिय सदस्य अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (एशिया) रत्न लक्सम सुब्बाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उषा शर्माले देवकोटाको कविता वाचन गरेकी थिइन् भने कवयित्री जीविका अश्रु, विष्णुमाया कटेल, तथा कवि गोपाल के. छेत्री र पेम नर्बु शेर्पा “ज्योति” ले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए।
यस अवसरमा सिक्किम अकादेमीको उपलब्धिहरूबारे प्रकाशित पुस्तिका पनि अतिथिहरूको बाहुलीबाट लोकार्पण गरियो। यस अवसरमा अनुवाद साहित्यमा अकादमी पुरस्कार विजेता अमर बानियाँ लोहोरोलाई अभिनन्दन गरिएको थियो। उनलाई फुलको गुच्छा र खादा ओढाएर सम्मान गरियो।
साहित्य र संस्कृतिप्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले सिक्किममा नेपाली साहित्यको जीवन्तता पुनः प्रतिविम्बित गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा सिक्किम अकादेमीका महासचिव पूर्ण योञ्जनले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे।
हिन्दुस्थान समाचार / बिशाल