
सिक्किम र दार्जिलिङमा कुल 23 वटा कार्यक्रम गर्ने योजना
गान्तोक, 12 नोभेम्बर (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थान अन्तर्गत अहिले देशभरि नै सप्तशक्ति संगम नामले विद्या भारतीद्वारा आमाहरूको नेतृत्व आमाहरूको लागि नै कार्यक्रम आयोजना गर्दै आइरहेको छ। राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको उपलक्ष्यमा मातृ शक्तिलाई अझ सशक्त बनाउन यो देशव्यापी अनुष्ठान शुरू गरिएको हो।
विद्या भारती सिक्किम प्रान्तले पनि सिक्किम लगायत दार्जिलिङमा कुल 23 वटा कार्यक्रम गर्ने योजना बनाएको छ। यस कार्यक्रम अन्तर्गत 2500 भन्दा धेरै मातृ शक्तिलाई सामेल गराउने लक्ष्य लिइएको छ। यस कार्यक्रममा समाजका प्रत्येक क्षेत्रबाट महिलाहरूको उपस्थिति सुनिश्चित गर्दै घर परिवार र समाजप्रति महिलाहरूको उत्तरदायित्व, पञ्च परिवर्तन, कुटुम्ब प्रबोधन, पर्यावरण, सुस्वास्थ्य, संस्कार, आदि जस्ता विषयहरूमा चर्चा गरिने छ।
यस क्रममा विद्या भारती सिक्किम प्रान्तले सरस्वती विद्या निकेतन, सामदोङमा मंगलवार सप्तशक्ति संगम कार्यक्रम आयोजन गऱ्यो। आमाहरूकै नेतृत्वमा सञ्चालित यस कार्यक्रममा मञ्च अधिकारी र वक्ताहरू सबै महिलाहरू नै थिए। कार्यक्रमको अध्यक्षता पूर्व शिक्षिका मतीटिका देवी सापकोटाले गरेकी थिइन्।
उनले आफ्नो सम्बोधनमा भनिन्, महिलाहरू संवेदनशील र सृजनशील हुनुपर्छ। सबै कुरामा महिलालाई ईश्वरले धेरै सकारात्मक गुण दिएको छ। घर परिवार र देश निर्माणमा आमाहरूको ठूलो योगदान रहेको छ। शिक्षित, संस्कारित र सक्रिय भई निर्माणको कार्यमा उदाहरणीय हुनुपर्छ।
यसैगरी, मुख्य वक्ता विद्या भारतीकी अखिल भारतीय सह मन्त्री पवित्रा दाहालले सप्तशक्ति संगमको विषयमा विस्तारपूर्वक जानकारी गराइन्। सन्तोषी छेत्रीले सञ्चालन गरेको कार्यक्रममा महिलाहरूले सामूहिक गीत प्रस्तुत गरेका थिए भन अनुभव कथन, प्रश्नोत्तर आदि पनि राखिएको थियो।
कार्यक्रममा समाजमा लगनशील भई आफ्ना सन्ततिलाई शिक्षित बनाउने, कष्ट गरि घर परिवार चलाउने प्रेरणाका स्रोत दुई आमाहरू पुष्पदेवी दाहाल र मेनका सिपकोटालाई शल ओडार सम्मानित गरियो। कार्यक्रममा 103 मातृ शक्तिको उपस्थिति रहेको थियो भने विद्यालय सञ्चालन समिति अध्यक्ष, सल्लाहकार, विद्या भारती सिक्किमका मुख्य सल्लाहकार हरिशंकर शर्मा, संयोजक मोहन शर्मा पनि उपस्थित थिए।
आगामी 21 नोभेम्बरका दिन दार्जिलिङको बिजनबारीमा वृहत सप्तशक्ति संगम कार्यक्रम आयोजना गरिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल