
कोलकाता, 13 नोभेम्बर (हि. स.)। पश्चिम बंगाल विधानसभाको आगामी शीतकालीन सत्रमा राज्यका पूर्व शिक्षा मन्त्री औ तृणमूल कंग्रेसका निलम्बित नेता पार्थ च्यटर्जीलाई अब स्वतन्त्र विधायक जस्तै मानिनेछ। विधानसभा अध्यक्ष बिमान ब्यनर्जीले स्पष्ट पारेका छन्, उनलाई अब न त सत्तासिन पक्षको खेमामा स्थान दिइनेछ न त विपक्षको माझमा कुनै विशेष स्थान।
विधानसभा सूत्र अनुसार पार्थ च्यटर्जीलाई नयाँ आसन सदनमा सत्तापक्ष र विपक्षी बेञ्चहरूको माझमा अवस्थित स्वतन्त्र विधायकहरूको ठाउँमा दिइनेछ। यो निर्णय यसकारणले लिइएको हो किनभने जुलाई, 2022-मा स्कूल भर्ती घोटालाको सिलसिलामा प्रवर्तन निदेशालय (ईडी)- द्वारा पक्राउ गरिेपछि तृणमूल कंग्रेसले उनलाई पार्टीबाट निलम्बित गरिदिएको थियो।
अध्यक्षले बताए, अब पार्थ च्यटर्जीलाई विधानसभा परिसरमा मन्त्री पदमा छँदा जस्तो भिन्नै कोठा पनि दिइनेछैन। अब उनी मन्त्री रहेनन्, त्यसैले उनलाई अलग्गै कोठा आवन्टन गरिनेछैन। उनी अन्य विधायकहरू जस्तै सदनको कारबाहीमा सामेल हुनेछन् अनि समान सुविधा उपभोग गर्नेछन्।
उनले यो पनि स्पष्ट रूपमा भने, यदि पार्थ च्यटर्जीले सत्र अवधि कुनै बहसमा भाग लिन चाहे नियमानुसार उनलाई बोल्ने अवसर दिइनेछ। च्यटर्जीलाई मन्त्रीमण्डलबाट हटाइसकिएको भए पनि उनी अहिले पनि विधानसभाका सदस्य हुन्। त्यसैले उनलाई सत्रमा भाग लिने पूर्ण अधिकार छ। उनी वरिष्ठ विधायक हुन्। यदि उनले आफ्नो मत राख्न चाहे उनलाई समय दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा