छितेन टाशी भोटियालाई 'प्रथम कोङचेन दोर्जी पुरस्कार' ले सम्मानित गरिने
SILTA


गान्तोक, 13 नोभेम्बर (हि.स.)। सिक्किमका एक वरिष्ठ राजनीतिज्ञ एवं समाज सेवक छितेन टाशी भोटियालाई 'प्रथम कोङचेन दोर्जी पुरस्कार' ले सम्मानित गरिने भएको छ। भोटियाले सिक्किमको पुरानो कानुनको सुरक्षा गर्न दिएको उल्लेखनीय योगदानको सम्मानमा यो पुरस्कार प्रदान गरिने भएको हो। सिक्किम इन्डिजिनस लेप्चा ट्राइबल एसोसिएशन (एसआईएलटीए) ले आगामी 16 नोभेम्बरमा भोटियालाई उक्त पुरस्कारले सम्मानित गर्नेछ।

एसआईएलटीएकी अध्यक्ष मायाल्मित लेप्चाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरेकी हुन्। एसआईएलटीएले यसपालीदेखि सिक्किमको पुरानो कानुनको सुरक्षाको लागि वर्षौं समर्पित भएर काम गर्ने र आवाज उठाउने व्यक्तित्व छितेन टाशी भोटियालाई 'प्रथम कोङचेन दोर्जी पुरस्कार' ले सम्मानित गर्ने निर्णय लिएको उनले बताइन्। उनले 25-30 वर्षसम्म सिक्किम र सिक्किमेहरूको लागि समर्पित बनेर काम गर्ने एक व्यक्तिलाई समितिले चयन गरेर पुरस्कृत गर्ने पनि उनले जानकारी गराइन्। यद्यपि, संस्थाले यो पुरस्कार वार्षिकरूपमा प्रदान नगर्ने पनि उनले स्पष्ट पारिन्।

अध्यक्ष लेप्चाले सिक्किमको लागि समर्पित बनेर काम गर्ने धेरै यस्ता समाज सेवकहरू छन्, जसको कामलाई सम्मान जनाउने काम भएको छैन भनिन्। संस्थाले यस्ता व्यक्तिहरू चयन गरेर उनीहरूप्रति नैतिक समर्थन व्यक्त गर्न र उनीहरूले गर्दै आएका कार्यहरूको सराहना गर्न 'कोङचेन दोर्जी पुरस्कार' ले सम्मानित गर्ने निर्णय लिएको उनले बताइन्। यस पटक संस्थाले समाज सेवक छितेन टाशी भोटियालाई सम्मानित गर्ने निर्णय लिएको बताउॅंदै उनले भविष्यमा सिक्किमका भोटिया, लेप्चा, सिक्किमे मूलका नेपालीहरू र व्यापारी समुदायबाट पनि यस्ता व्यक्तिहरूलाई सम्मानित गर्ने बताइन्।

उनले आगामी 16 नोभेम्बरका दिन राजधानीको स्थानीय एउटा होटलमा कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रममा 'कोङचेन दोर्जी पुरस्कार' प्रदान गरिने बताइन्। उनले कार्यक्रममा सत्तारुढ़ दल, विपक्षीहरू र संघ संस्था सबैलाई आमन्तित्र गरिएको बताउॅंदै राज्यवासीहरूलाई पनि सहभागी भइदिने अपील गरिन्। उनले उक्त पुरस्कार एक प्रतिष्ठित बुङथिङ लबी साङ्गेको बाहुलीद्वारा प्रदान गरिने बताइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande