
पश्चिम मेदिनीपुर, 14 नोभेम्बर (हि. स.)। बेलदा क्षेत्रमा अवैध देशी मदिराको बढ़्दो व्यापार अनि त्यसबाट उत्पन्न सामाजिक समस्याहरूविरूद्ध अब स्थानीय महिलाहरू खुलेर मैदानमा उत्रेका छन्। गए बिहीवार अबेर साँझ बेलदाको देउली बाँधपाड़ा क्षेत्रमा महिलाहरूले केही अवैध मदिरा व्यापारीहरूको ठेगानामा धावा बोले अनि प्रचुर मात्रामा देशी मदिरा बनाउने उपकरणहरूलाई नष्ट गरिदिए।
स्थानीय महिलाहरूको आरोप छ, अवैध देशी मदिराको सेवनबाट घर-परिवारमा निरन्तर कलह बढ़िरहेको छ। नशाको लतले युवकहरूलाई मात्र नभएर साना-ठूला सबैलाई बर्बाद बनाइरहेको छ।
महिलाहरूको भनाइ छ, कैयौं पटक मदिरा व्यापारीहरूलाई रोक्ने प्रयास गरियो, तर कुनै लाभ भएन। प्रशासनसित सिकायत गरिएको भए पनि कुनै ठोस कारबाही भएन जसकारण बाध्य भएर हामी आफैलाई कारबाही गर्न परिरहेको छ।
गए बिहीवार अबेर साँझ दर्जनौं महिलाहरू एकजुट भएर लगभग चारजना अवैध देशी मदिरा व्यापारीहरूको घरमा पुगे अनि त्यहाँ राखिएको भारी मात्रामा मदिरा र निर्माण उपकरण जफत गरी नष्ट गरिदिए। त्यसपछि महिलाहरूले रिसको आवेगमा भने, क्षेत्रमा भइरहेको यस अवैध मदिरा व्यापारलाई कुनै अवस्थामा बन्द गरियोस्, अन्यथा आन्दोलन तीव्र हुनेछ। घटनापछि परिवेश तनाउपूर्ण भएको छ। स्थानीय मानिसहरूले प्रशासनसित चाँड़ोभन्दा चाँड़ो कारबाही गर्ने माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा