
गान्तोक, 14 नाेभेम्बर (हि.स.)। राजधानीमा आज ७२औं अखिल भारतीय सहकारी सप्ताह मनाइयो। राज्य सहकारिता विभागले देवरालीको सामुदायिक हलमा आयओजना गरेकाे कार्यक्रममा सहकारिता विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमको शुरुवात तादाेङस्थित सहकारी भवन परिसरमा मन्त्री उप्रेतीद्वारा सहकारी झण्डा फहराएर गरिएको थियो। त्यसपछि सहकारी आन्दोलनप्रतिको सामूहिक समर्थनका प्रतीकस्वरूप तादाेङदेखि देवरालीसम्म ऱ्याली निकालियो।
मन्त्री उप्रेतिले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर सहकारी आन्दोलन’ को दृष्टिकोणलाई जोड दिँदै सहकारी नेतृत्वमा आधारित विकासको आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री प्रेमसिंह तमाङको नेतृत्वमा कृषि, डेरी, सीप विकास र ग्रामीण–शहरी क्षेत्रमा सहकारीहरू पुनर्जीवित भएको उल्लेख गरे। उनले प्रत्येक जिल्लामा तालिम, योजना र ग्रामीणस्तरका पहलका लागि समर्पित ‘सहकारी भवन’ स्थापना गरेर राज्य सरकार सहकारी संस्थाहरूमाथि प्रतिबद्ध रहेको बताए।
कार्यक्रमलाई सहकारिता विभागका सल्लाहकार श्याम प्रधान, विभागकी अध्यक्षा विद्या विश्वकर्मा र सचिव जबी थापाले पनि सम्बाेधन गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल