
गान्तोक, 14 नोभेम्बर (हि.स.)। उत्तर पूर्व क्षेत्रको लागि १३औं अन्तरराष्ट्रिय पर्यटन मार्ट (आईटीएम) शुक्रवारदेखि शुरू भएको छ। आईटीएम आयोजनलाई लिएर आज सॉंझ पाङथाङको एक स्थानीय होटलमा पत्रकार सम्मेलन आयोजन गरियो।
पत्रकार सम्मेलनमा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु, राज्य पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ थेन्डुप भोटिया, अरुणाचल प्रदेश सरकारका पर्यटन मन्त्री पीडी सोना, असम सरकारका पर्यटन मन्त्री रंजित कुमार दास, सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा र भारत सरकारको पर्यटन मन्त्रालयकी सचिव वी. विद्यावतीले भाग लिए।
अरुणाचल प्रदेशका मुख्यमन्त्री खाण्डुले आफ्नो सम्बोधनमा सिक्किमले दोस्रो पटक अन्तरराष्ट्रिय पर्यटन मार्ट आयोजना गरिरहेको बताए। उनले उत्तर पूर्व क्षेत्रमा अद्वितीय सांस्कृतिक विविधताको उल्लेख गर्दै पूर्वोत्तरलाई आफ्नो शक्ति प्रदर्शित गर्न साझा मञ्चको आवश्यकता रहेको बताए। आईटीएमले राज्यहरूलाई आफ्नो पर्यटन सम्भावनालाई प्रदर्शन गर्न तथा भारत र विदेशका सरोकारवालाहरूसँग सञ्जाल निर्माण गर्न अवसर सिर्जना गरेको बताए।
मुख्यमन्त्री खाण्डुले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उत्तरपूर्वी राज्यहरूले पर्यटन क्षेत्रमा आफ्नो भूमिका विस्तार गरिरहेको बताए। उनले स्थानीय उद्यमको वृद्धि र पर्यटक आगमनमा भएको वृद्धिले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याइरहेको बताए। उनले होटल चेनको उपस्थिति र अन्तरराष्ट्रिय तथा घरेलु अतिथिहरूको सहभागिताले आर्थिक गतिविधिलाई सहयोग पुर्याउने र सबै उत्तरपूर्वी राज्यहरूलाई फाइदा पुर्याउने बताए।
पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री भोटियाले आईटीएम आयोजना गर्नु सिक्किमको लागि महत्त्वपूर्ण रहेको र यसले उत्तरपूर्वी क्षेत्रको पर्यटन सञ्जालसँग राज्यको संलग्नतालाई बलियो बनाउने बताए। सिक्किमले सामुदायिक संलग्नता र समन्वयित योजना मार्फत दिगो रूपमा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने प्रयास जारी राखेको उनले बताए। आईटीएमले उत्तरपूर्वी राज्यहरू र सरोकारवालाहरूलाई पर्यटन व्यवस्थापन र पहुँचमा विचार आदानप्रदान गर्न एक मञ्च सिर्जना उनले बताए।
यसैगरी, सांसद डा. सुब्बाले सिक्किममा कनेक्टिभिटीका मुद्दाहरू र त्यसलाई सम्बोधन गर्न चालिएका कदमहरूबारे बताए। उनले एनएचआईडीसीएल र रेलवे अन्तर्गत स्वीकृत परियोजनाहरूमाथि प्रकाश पारे। उनले स्वीकृत कामहरू पूरा भएपछि कनेक्टिभिटी समस्याहरू समाधान हुने बताए।
भारत सरकारको पर्यटन मन्त्रालयकी सचिव विद्यावतीले सिक्किम विविध वनस्पति, जीवजन्तु र कञ्चनजङ्घा रेन्ज जस्ता समृद्ध प्राकृतिक विशेषताहरूले सम्पन्न रहेको बताइन्। उनले यस कार्यक्रममा १९ देशका ३९ अन्तरराष्ट्रिय यात्रा सरोकारवालाहरू र भारतभरका लगभग ९० घरेलु टुर अपरेटरहरूको सहभागिता रहेको जानकारी गराइन्। उनले कार्यक्रममा प्यानल छलफल, बी2बी संलग्नता र होमस्टेमा सत्रहरू समावेश रहेको बताइन्।
यस अवसरमा सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङ, राज्य पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, भारत सरकारको पर्यटन मन्त्रालयका अतिरिक्त सचिव एवं महानिर्देशक सुमन बिल्ला आदि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल