
गान्तोक, 14 नोभेम्बर (हि.स.)। आगामी राज्यस्तरीय मक-ड्रिलको आयोजनलाई लिएर सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा आज राजधानीको टाशीलिङ सचिवालयमा एक टेबल टप एक्सरसाइज सम्पन्न भयो। यस सत्रमा राज्यका छवटै जिल्लाका जिल्लापालहरू, लाइन विभागका अधिकारीहरू र आपदा प्रबन्धन एवं आपतकालीन प्रतिक्रियासॅंग संलग्न हितधारकहरू सहभागी बनेका थिए।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण, भूराजस्व एवं आपदा प्रबन्धन विभागले राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणको संयुक्त तत्वावधानमा आगामी 17 नोभेम्बरका दिन राज्यस्तरीय मक-ड्रिल आयोजना गरिने छ। यो अभ्यास आयोजन गर्नुको उद्देश्य भूकम्प, पैह्रो र हिमनदी ताल फुटेर हुने बाढी (जीएलओएफF) जस्ता प्राकृतिक प्रकोपहरूको समयमा समन्वित तयारी हासिल गर्नु रहेको छ।
मुख्य सचिव तेलाङले आफ्नो सम्बोधनमा पहिलेका कृत्रिम अभ्यासहरूमा सेना, नागरिक एजेन्सीहरू र लाइन विभागहरूबीच प्रभावकारी समन्वय देखाएको बताए। उनले सिक्किमको भौगोलिक स्थानको उल्लेख गर्दै राज्य प्राकृतिक प्रकोपहरूको जोखिममा रहेकाले आपदा प्रबन्धनमा जोड दिए।
उनले आपदा मित्र स्वयंसेवकहरूको सामुदायिक स्तरको पहलमाथि प्रकाश पारे, जसलाई प्राकृतिक आपदाहरूसॅंग जुध्न प्रशिक्षित गरिॅंदैछ। मुख्य सचिवले सम्बन्धित विभाग, एनडीआरएफ, एसडीआरएफ र स्वयंसेवकहरूलाई आपदा प्रबन्धनमा सिक्किमलाई एक आदर्श राज्य बनाउन समन्वित प्रयास गर्न आग्रह गरे।
मेजर जेनरल सुधिर बहल (सेवानिवृत्त) प्रमुख सल्लाहकार, एनडीएमएले प्रस्तावित मक-ड्रिल आयोजनलाई लिएर पावरपोइन्ट प्रस्तुति दिए। उनले सहभागीहरूलाई प्राकृतिक प्रकोपको समयमा प्रतिक्रिया योजना, अधिकारीहरूको तयारी र पालना गर्नुपर्ने प्रोटोकलहरूको बारेमा जानकारी गराए। उनले घटना प्रतिक्रिया प्रणाली ढाँचाभित्र सरकारी विभागहरूको भूमिका र जिम्मेवारीहरूको बारेमा विस्तृत रूपमा बताए।
बैठक अघि, मेजर जेनरल बहल र सिक्किम राज्य आपदा प्रबन्धन विभाग, भूराजस्व एवं आपदा प्रबन्धन विभागका अधिकारीहरूले सचिवालय बाहिर उपकरणहरूको समीक्षा गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल