
गान्तोक, 14 नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु सिक्किम आइपुगेका छन्। उनी आज हेलिकप्टरबाट राजधानीको बुर्तुकस्थित हेलीप्याडमा अवतरण गरे। हेलीप्याडमा मुख्यमन्त्री खाण्डुलाई सिक्किमका पर्यटन मन्त्री छिरिङ थेन्डुप भोटिया र विभागका वरिष्ठ अधिकारीहरूले स्वागत जनाए।
मुख्यमन्त्री खाण्डु राजधानी छेउ पाङथाङमा आयोजना भइरहेको 13औं इन्टरनेशनल टुरिज्म मार्ट (आईटीएम) मा भाग लिए सिक्किम आएका हुन्। मख्यमन्त्री खाण्डुसॅंग भारत सरकारको पर्यटन मन्त्रालयकी सचिव वी. विद्यावथी पनि सिक्किम आएकी छन्। यस अघि मुख्यमन्त्री खाण्डु र सचिव विद्यावथीलाई बागडोग्रा हवाई अड्डामा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।
आईटीएमले राज्यहरूलाई पर्यटन सम्भाव्यता प्रदर्शन गर्न, क्षेत्रीय पहलहरूको समीक्षा गर्न र उद्योग सरोकारवालाहरूसँग संलग्न हुन एक मञ्च प्रदान गर्दछ। कार्यक्रममा क्षेत्रभित्र पर्यटन सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले बैठकहरू, प्रस्तुतीकरणहरू र छलफलहरू समावेश छन्।
यो कार्यक्रम भारत सरकारको पर्यटन मन्त्रालय र सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले संयुक्त रूपमा गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल