
गान्तोक, 14 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको आज छुजाचेनमा पाकिम जिल्ला समितिको एउटा जरुरी समन्वयक बैठक सम्पन्न भयो। पाकिम र गान्तोकका प्रभारी वरिष्ठ उपाध्यक्ष बिजय प्रधानको अध्यक्षतामा सम्पन्न बैठकमा पाकिम जिल्लाका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचीव, युवा नेता तथा नेतृहरूको सहभागिता थियो।
एसडीएफद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सभामा विभिन्न भातृ संगठन र कार्यकर्ताले पार्टीको गतिविधि र संगठनको निर्माणलाई लिएर आ-आफ्ना सुझाउहरू राखे। वरिष्ठ उपाध्यक्ष एवं राजनीतिक मामिला प्रभारी निरु सेवाले कार्यकर्ताहरूले उठाएका प्रश्नहरुमा स्पष्टीकरण दिॅंदै आगामी पार्टीको कार्यदिशाप्रति कार्यकर्ताहरूको भूमिकाबारे जानकारी गराइन्।
सभा अध्यक्ष प्रधानले पार्टी मार्गनिर्देशन र पार्टी अध्यक्षको सन्देश सबैलाई अवगत गराउॅंदै अब पार्टी पूर्णरुपले जनताको सम्पर्कमा गएर जनताको हक र हितका पक्षमा भूमिका निर्वाह गर्न तयार बनिसकेको बताए। उनले पार्टी पूर्ण रुपले नयाँ पुस्तामा हस्तान्तरण भइसकेकाले अब पार्टीको अह्म भूमिका पनि नयाँ पुस्ताले नै लिनुपर्ने दायित्व आएको बताए। उनले नयाँ पुस्ता र पुराना पुस्ता मिलेर सिक्किम बर्बाद बनाउने शक्तिलाई घुडा टेकाएर मात्र विश्राम लिनुपर्छ भनी आह्वान गरे।
बैठकमा आगामी कार्यदिशा र संगठनका गतिविधिहरूको सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरु ग्रहण गर्दै सबैलाई आ- आफ्नो जिम्मेवारी सुम्पिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल