एसएलबीसी सिक्किमले गान्तोकमा दावी नगरिएका सम्पत्ति र जमा कार्यक्रमको शुभारम्भ गर्‍यो
दावी नगरिएका सम्पत्ति र जमा कार्यक्रमको शुभारम्भ


गान्तोक, 14 नोभेम्बर (हि.स.)। राज्यस्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी) सिक्किमले आज गान्तोकमा दावी नगरिएका सम्पत्ति र जमा कार्यक्रम सफलतापूर्वक शुभारम्भ गऱ्यो। यस पहलको उद्देश्य राज्यमा सञ्चालित सबै ब्याङ्कहरूको समन्वित प्रयासको माध्यमद्वारा नागरिकहरूलाई उनीहरूद्वारा दावी नगरिएका वित्तीय सम्पत्तिहरू पहिचान गर्न र दाबी गर्न सहयोग गर्नु हो। उक्त जानकारी आज पीआईबीले दिएको छ।

कार्यक्रमको उद्घाटन आरबीआई, गान्तोकका क्षेत्रीय निर्देशक टी. जमाङको विशिष्ट उपस्थितिमा गरिएको थियो, जो कार्यक्रममा मुख्य अतिथि थिए। कार्यक्रममा गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया विशिष्ट अतिथिको रूपमा उपस्थित थिइन्। नाबार्डका महाप्रबन्धक अजय कुमार सिन्हा र सिक्किम सरकारका निर्देशक (वित्त) महेन्द्र प्रधानले विशेष अतिथिको रूपमा भाग लिएका थिए। कार्यक्रममा गान्तोक नगर निगमका धेरै पार्षद्हरू पनि उपस्थित थिए।

कार्यक्रमको शुभारम्भ एसएलबीसी सिक्किमका एजीएम गोपाल लामाले स्वागत भाषणबाट गरे, त्यसपछि मञ्चमा रहेका सबै विशिष्ट व्यक्तिहरूले जानकारीपूर्ण टिप्पणी र मार्गदर्शन प्रदान गरे।

आफ्नो मुख्य भाषण दिँदै आरबीआईका क्षेत्रीय निर्देशकले सबै ब्याङ्कहरूलाई शिविर आयोजन गर्न र अभियान मोडमा सञ्चालन गर्न आग्रह गरे ताकि पहुँच अधिकतम होस् र दाबी नगरिएका जमाहरूको समयमै भुक्तानी सुनिश्चित होस्। उपमेयरले ब्याङ्कहरूलाई नागरिकहरूको लागि प्रक्रियालाई अझ सुलभ बनाउन र उनीहरूको उचित बक्यौता सजिलै पहिचान गर्न र दाबी गर्न मद्दत गर्न वार्ड-स्तरीय शिविरहरू सञ्चालन गर्न प्रोत्साहित गरिन्।

नाबार्डका जीएमले राज्यमा कुनै पनि वैध कोष दाबी नगरिएको नहोस् भनेर सुनिश्चित गर्न सबै वित्तीय संस्थानहरू बीच सामूहिक जिम्मेवारीको महत्त्वमाथि जोड दिए। निर्देशक (वित्त) ले सम्भावित लाभार्थीहरूको पहिचानलाई सजिलो बनाउन सबै ब्याङ्कहरूलाई पार्षद्हरूसँग डेफ खाताहरूको विवरण साझा गर्न सल्लाह दिए।

एसएलबीसीका सीएम कल्लोल भट्टाचार्यले धन्यवाद ज्ञापनमा एसएलबीसी सिक्किम र सबै सहभागी ब्याङ्कहरूले राज्यभर यो महत्त्वपूर्ण पहलको सफल कार्यान्वयनको लागि घनिष्ठ समन्वयमा काम गर्ने प्रतिबद्धताको बलियो पुन: पुष्टि गर्दै कार्यक्रमको समापन गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande