गान्तोक, 19 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज मल्ली डाँडामा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा एक विशेष बैठक सम्पन्न भयो। उक्त बैठकमा 2024 को विधानसभा निर्वाचनमा पार्टीको तर्फबाट जनप्रतिनिधित्वका लागि अग्रसर भएका सम्पूर्ण उम्मेदवारहरूको सक्रिय उपस्थिति रहेको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
सीएपीले हालै सदर थानाअघि पार्टीका केही नेताहरूमाथि सत्तारूढ शक्तिको संरक्षणमा योजनाबद्ध, बर्बर र प्राणघातक आक्रमण भएको आरोप लगाउॅंदै बैठकमा उक्त घटनाप्रति गहिरो चिन्ता र भत्सर्ना व्यक्त गरिएको बताएको छ। बैठकले उक्त घटनालाई जनतन्त्रमाथिको खुला आघात ठहर गरेको छ। सीएपीले यस आक्रमणमा गम्भीर घाइते भई अस्पतालमा उपचाररत रहेका नेताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकमा पार्टीको सांगठनिक संरचना, विचारधारात्मक स्पष्टता, र रणनीतिक सुदृढीकरणका विषयमा गहिरो बहस, विमर्श र दृष्टिकोणको आदान–प्रदान भएको बताइएको छ। पार्टीलाई केन्द्रदेखि युनिट स्तरसम्म मजबुत बनाउँदै सशक्त जनसंगठन निर्माण गर्ने खाका कोरिँदै, लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वप्रति पार्टीको निष्ठालाई पुनः सुदृढ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
सीएपीले राज्यको अस्मिता, स्वाभिमान र जनताको संवैधानिक अधिकारको रक्षाका लागि प्रतिबद्ध व्यक्त गर्दै अन्याय, दमन र षड्यन्त्रका विरुद्ध पार्टीको संघर्ष अविचल, अपराजेय र अटल रहनेछ भनी बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल