गान्तोक, 19 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका नेता प्रशान्त गुरुङलाई सिलगढी रेफर गरिएको छ। गत 17 जुलाई राति भएको आक्रमणमा प्रशान्त गम्भीर रूपमा घाइते भएका थिए।
सीएपीले आज जारी एक प्रेस विज्ञप्तिमा एसकेएम प्रायोजित बदमाशहरूको बर्बर आक्रमणमा गम्भीर रूपमा घाइते भएका प्रशान्त गुरुङलाई थप उपचारको लागि सिलगढी रेफर गरिएको जानकारी गराइएको छ। उनको अहिले सिलगढीमा चिकित्सा देखरेखमा उपचार चलिरहेको बताइएको छ।
सीएपीले एक समर्पित जननेता विरुद्धको यो कायरतापूर्ण हिंसा लोकतन्त्र र राजनीतिक असहमतिमाथि प्रत्यक्ष आक्रमण हो भनेको छ। सीएपीले यस अमानवीय आक्रमणको कडा शब्दमा निन्दा गदछौं भन्दै दोषीहरूमाथि तत्काल कारबाहीको माग गरेको छ।
सीएपीले सबै शुभ चिन्तकहरूलाई बिरामीको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन र राजनीतिक आतङ्कवाद विरुद्ध एकजुट बन्न आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल