राज्यका 32 निर्वाचन क्षेत्रमा एकसाथ जीसीआई शीट वितरण, कुल 6,81,000 जीसीआई शीट वितरित
राज्यका 32 निर्वाचन क्षेत्रमा एकसाथ जीसीआई शीट वितरण, कुल 6,81,000 जीसीआई शीट वितरित


गान्तोक, 19 जुलाई (हि.स.)। राजधानी नजिक रेशिथाङ मेला ग्राउण्डमा आज सिक्किम सरकारको ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमबीच ग्याल्भेनाइज्ड कोरुगेटेड आइरन (जीसीआई) शीट वितरण गरियो। कार्यक्रममा जनस्वास्थ्य अभियान्त्रिकी, जलस्रोत तथा धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको शुभारम्भ पद्मश्री पुरस्कारले सम्मानित स्वर्गीय गडुलसिंह लामाको स्मृतिमा दुई मिनेट मौनधारणबाट गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लामाले ग्रामीण विकास विभागले यस्ता पहलहरूको माध्यमद्वारा ग्रामीण कल्याणप्रति आफ्नो जिम्मेवारी पूरा गरेको बताए। उनले सबै 32 निर्वाचन क्षेत्रमा जीसीआई शीटहरूको एकैसाथ वितरण एक महत्वपूर्ण उपलब्धि रहेको बताए। उनले सिक्किम गरीब आवास योजनाको पनि उल्लेख गर्दै यो योजनाले राज्यलाई कच्चा घरमुक्त बनाउने लक्ष्य राखेको बताए। उनले लाभार्थीहरूलाई बधाई दिॅंदै उनीहरूलाई जीसीआई शीटहरूको सदुपयोग गर्न प्रोत्साहित गरे।

यस अघि ग्रामीण विकास विभागकी सल्लाहकार एवं विधायक कला राईले आफ्नो सम्बोधनमा लाभार्थीहरूलाई आफ्नो घरको अवस्था सुधार गर्न जीसीआई शीटहरूको उचित प्रयोग गर्न प्रोत्साहित गरिन्। उनले विशेष गरी मनसुन मौसममा आफ्नो घरको संरचना बलियो बनाउन र राम्रो सुरक्षा प्रदान गर्न सामग्रीहरू प्रयोग गर्न सल्लाह दिइन्।

कार्यक्रममा ग्रामीण विकास विभागकी सचिव नोर्जिङ छिरिङ शेङ्गाले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले मनसुन मौसममा घरपरिवारलाई कठिनाई नहोस् भनी दिएको निर्देशन अनुरूप जीसीआई शीट वितरण गरिएको बताइन्। उनले आज पहिलो पटक सबै 32 निर्वाचन क्षेत्रहरूमा एकैसाथ जीसीआई शीटहरू वितरण भएको बताइन्।

सचिवले प्रत्येक लाभार्थीले 30 वटा जीसीआई शीटहरू प्राप्त गरेको बताइन्। वितरण कोटामा प्रति विधायक 500 लाभार्थी, प्रति मेयर र छवटा जिल्लाका जिल्ला अध्यक्षहरू 15, प्रति उपमेयर र उपाध्यक्ष 10, प्रति शहरी स्थानीय निकायका पार्षद 10 (कुल 51), प्रति जिल्ला पञ्चायत 5 (कुल 112), प्रति वडा पञ्चायत तीन (कुल 1149) र सारथी कल्याण बोर्ड मार्फत 300 समावेश छन्। वितरण गरिएको जीसीआई शीटहरूको कुल संख्या 6,81,000 थियो।

विभागले अप्पर तादोङ, आरिथाङ, गान्तोक, अप्पर बुर्तुक र संघ निर्वाचन क्षेत्रका लाभार्थीहरूलाई जीसीआई शीटहरू वितरण गऱ्यो। कार्यक्रममा स्वयं सहायता समूह (एसएचजी) लाभार्थीहरूलाई आजीविका ग्रामीण एक्सप्रेस योजना (एजीईवाई) टोकनहरू पनि वितरण गरियो।

मुख्य अतिथिले निर्वाचन क्षेत्रहरूको लागि निर्धारित एजीईवाई सवारी साधनहरू र जीसीआई शीट वितरण सवारी साधनहरूलाई झण्डा देखाएर प्रस्थान गराए।कार्यक्रममा ग्रामीण विकास विभाग तथा सहकारी विभाग मन्त्री अरुण कुमार उप्रेती, स्वास्थ्य तथा परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेल, विधायक दिले नामग्याल बर्फुङ्गपा, गान्तोक नगर निगमका मेयर र उपमेयर, सल्लाहकारहरू, अध्यक्षहरू आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande