खरसाङ, 19 जुलाई (हि.स.)। खरसाङको निम्न डुमाराम वार्ड नम्बर पाँचमा अवस्थित 'द ग्रेस इभान्जिकल चर्च' का पास्टर राजेन घहतराजको अगुवाईमा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ छर्ने कार्य सम्पन्न गरिएको छ। बाटो हिँड्ने जन साधारणको सुविधाको निम्ति गरिएको यस ब्लिचिङ छर्ने कार्य प्रार्थनाको साथ शुरू गरियो।
वार्डभित्र पर्ने ठूलो गोलाईबाट ब्लिचिङ छर्दै ओह्रालो बाटो हुँदै चर्च परिसर र वरिपरि र अन्त्यमा एनएच 110 छुने अन्तिम क्षेत्रसम्म कार्य ब्लिचिङ लगाइएको जानकारी प्राप्त भएको छ। विगतमा एक महिला यही बाटोमा चिप्लिएर आफ्नो हाथ अनि खुट्टा भचिएको थियो।
बर्खा यामका कारण बाटो चिप्लो भएकाले विद्यार्थीहरू लगायत जनमानसलाई बाटो हिँड्नु कठिन भइरहेको थियो। यस्तो असुविधालाई मध्यनजर राखेर यो कार्य गरिएको बताइएको छ। यस कार्यमा चर्चका पास्टर अनि झुण्डको सहभागिता रहेको थियो, जसमा बिरबल पाख्रीन, प्रविण दियाली, साङ्गे भोटिया, अरूण तामाङ र ईसाक घहतराज सामेल थिए।
चर्चका पास्टरको अगुवाईमा यसरी जन साधारणको निम्ति सामाजिक कार्यमा सहभागिता दिने अवसर प्राप्त भएकोमा सबै सहभागीहरूले ईश्वरलाई धन्यवाद ज्ञापन गर्दै खुशी प्रकट गरे। साथै गाँउका कतिपय महानुभावहरुले यस कार्यको निम्ति धन्यवाद ज्ञापन गरे। आगामी दिनहरूमा पनि चर्चको पक्षबाट सामाजिक सेवा जारी रहने चर्चका सदस्य बिरबल पाख्रीनले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक