2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ
2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ


गान्तोक, 19 जुलाई (हि.स.)। सिक्किमको भिजिलेन्स विभागले 2019 भन्दा अगाडि उर्जा क्षेत्रमा भएका घोटालाहरूको सम्बन्धमा राज्य बाहिर विभिन्न ठाउॅंहरूमा निरन्तर छापा मार्ने काम गरिरहेको छ भने भिजिलेन्स विभागले छापा मार्न शुरू गरेपछि सिटिजन एक्सन पार्टी (सीएपी) अतालिएको छ। अहिलेसम्म चलेका छानबिनको शुरुवाती पानाहरू हेर्दा उक्त घोटालामा सीएपीका अध्यक्षको हात हुन सक्ने सम्भावना देखिएको छ।

सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त गम्भीर आरोप लगाएका हुन्। सीएपी सिक्किमले राज्यमा एक्सटेन्शनको विरोधमा 'पद होइन पेन्शन' अभियान चलाएको छ। यस क्रममा गत केही दिन अघि सीएपी कार्यकर्ताहरू भिजिलेन्स विभाग पुगेका थिए।

यसपछि, भिजिलेन्स अधिकारीले सीएपी कार्यकर्ताहरू विरुद्ध सदर थानामा एफआईआर दर्ता गरे भने पुलिसले सीएपीका एक कार्यकर्तालाई डिटेन गऱ्यो। सोही दिन, अबेर राति सीएपीका अन्य कार्यकर्ताहरू उनीहरूलाई पनि कथित पक्राउ गर भन्दै थाना पुगेका थिए।

यस क्रमबीच अबेर राति थाना परिसरदेखि टाडा सीएपी कार्यकर्ताहरूमाथि अज्ञात व्यक्तिहरूले हमला गरेको पुलिसले आफ्नो बयानमा बताएको छ। यद्यपि, सीएपीले उनीहरूका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला भएको दाबी गरेका छन्।

एसकेएम प्रवक्ता खालिङले 2019 अगाडि सिक्किमको उर्जा क्षेत्रमा भएको ठूलो घोटालाको छानबिन गर्न पुलिस अधिकारीहरूको 28 सदस्यीय टोलीले राज्य बाहिर 5/6 वटा ठेगानाहरूमा छापा मारेको जानकारी गराए। उनले सिक्किम बाहिर यति ठूलो स्तरमा छापा मारिएको पहिलो पटक हो भन्दै अझै पनि कतिपय ठाउॅंहरूमा छापा मार्ने कार्य जारी रहेको छ भने।

उनले जुन दिनदेखि यसरी छापामारी शुरू भयो सिक्किममा सीएपी अतालिएको छ भनी दाबी गरे। उनले 2019 अगाडि उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्ने संकेत छानबिनको क्रममा अघि आइरहेको खुलासा गरे। उनले कतै ती घोटालाहरूमा सीएपीका टौकेहरू त संलग्न छैनन् र त्यसै कारण उनीहरूले भिजिलेन्स विभागलाई टार्गेट बनाएको त होइन भन्दै आशंका व्यक्त गरे।

अर्कोतिर, प्रवक्ता खालिङले सीएपी नेतृत्वहरूले एक्सटेन्शन र रि-इम्प्लोइमेन्टको भिन्नतालाई बुझ्न नसकेको दाबी गरे। एसकेएमले पहिलेदेखि नै एक्सटेन्शनको विरोध गर्दै आएको र आज पनि यसको विरोधमा रहेको उनले बताए। यद्यपि, रि-इम्प्लोइमेन्टका प्रावधानहरू एक्सटेन्शनभन्दा फरक रहेको दाबी गर्दै उनले एक्सटेन्शनका कारण कुनै पनि अधिकारीको पदोन्नति प्रभावित भएको छैन भने।

पहिले एसडीएफको सरकारमा एक्सटेन्शनका कारण धेरै उच्च पदस्थ अधिकारीहरू आफ्नो अधिकारबाट वन्चित बन्नु परेको उनले आरोप लगाए। वर्तमान सरकारले सेवानिवृत्त अधिकारीहरूको विशेषज्ञताको आधारमा शुसान र जनहितका लागि उनीहरूलाई रि-इम्प्लोइमेन्ट दिइरहेको उनले स्पष्ट पारे।

यस अघि प्रवक्ता बिकास बस्नेतले एसकेएमलाई बारम्बार गुण्डाको ट्याग लगाउने काम भइरहेको छ भन्दै यस्तो आरोप लगाउनेहरूले प्रमाण पनि प्रस्तुत गर्न सक्नु पऱ्यो भने। उनले सीएपी नीति सिद्धान्त नभएको पार्टी हो भन्दै उनीहरूको एउटै काम भनेको जनतामा भ्रम फैलाउनु रहेको आरोप लगाए। उनले सीएपीलाई आफ्नो चुनावी प्रदर्शनमा सुधार गर्न र आगामी नगरपालिका चुनाउमा एउटा सीट जितेर देखाउन चुनौती पनि दिए। उनले एसडीएफ र सीएपी एउटै सिक्काका दुई पाटा हुन् भनी दाबी गरे।

यसैगरी, एसकेएम युवा उपाध्यक्ष शहदेव शर्माले एसकेएम युवा अध्यक्ष लाक्पा मोक्तानमाथि सीएपीले लगाएका आरोपहरू आधारहिन रहेको बताउॅंदै खण्डन गरे। उनले गणेश राई चेयरम्यान छॅंदा र उनकी पत्नी तुलसीदेवी राई मन्त्री छॅंदा राज्यका कति जना युवाहरूको भविष्य बनाउने कार्य गरे, जवाफ दिउन् भनी बताए। उनले एसकेएमलाई गुण्डा भन्छ भने यसको प्रमाण पनि प्रस्तुत गर्नुपर्छ, नत्र कानुनी रूपमा प्रतिक्रिया जनाउने आसय व्यक्त गरे।

पत्रकार सम्मेलनमा प्रवक्ता बिरेन्द्र तामलिङ, प्रवक्ता कविता शपकोटा, प्रवक्ता कृष्ण लेप्चा र प्रवक्ता योगेन तामाङले पनि सीएपीले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande