हुगली, 20 जुलाई (हि. स.)। 21 जुलाईको दिन आयोजना भइरहेको तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीलाई लिएर तयारीहरू युद्ध स्तरमा भइरहेका छन्। किनभने आगामी विधानसभा चुनाउपूर्व पार्टीको यो अन्तिम शहीद दिवस ऱ्याली हो, त्यसैले पार्टी यस आयोजनलाई लिएर कुनै प्रकारको कमी राख्न चाहँदैन। तर ऱ्यालीको कारणले सार्वजनिक परिवहनको ठूलो अभाव भइरहेकोले जनसाधारणको समस्या बढ़्दै गइरहेको छ।
हुगली जिल्लाको महत्वपूर्ण शहर आरामबाग समेत दक्षिण बंगालका केही भागहरूमा गत 18 जुलाईदेखि नै लामो बाटोका बस सेवाहरूलाई पूर्ण रूपले बन्द गरिएको छ। दुई-चारवटा लोकल बसहरू गुड़िरहेको भए पनि लामो दूरीका अधिकांश बसहरूलाई सड़कबाट हटाइएको छ।
स्थानीय मानिसहरू तथा यात्रीहरूको आरोप छ, तृणमूल कंग्रेसको ऱ्यालीमा भीड़ एकत्र गर्नको लागि यी बसहरूलाई बलजफ्ती लगिएको छ। बसहरू पार्टी कार्यालय सामु खड़ा छन् वा नो पार्किंग जोनमा पंक्तिबद्ध छन्। स्थानीय मानिसहरू मुताविक आरामबागदेखि बर्दवान, बाँकुड़ा, पूर्व एवं पश्चिम मेदिनीपुर तथा यहाँसम्म कि कोलकातासम्म जाने बसहरू हाल सड़कबाट विलाएका छन्। अचानक बस सेवा ठप्प भएकोले आम यात्रीहरूको अवस्था सोचनीय भएको छ। केही मानिसहरू टोटो वा म्याजिक कार जस्ता स-साना वाहनहरूको सहारा लिन बाध्य भइरहेका छन्।
आरामबाग बस स्ट्याण्डमा दिनहुँ यात्रा गर्ने यात्रीहरूको भीड़ एवं हताशा स्पष्ट रूपमा देखिँदैछ। स्थानीय नागरिक सलिम मण्डलले भने, यसपालि 21 जुलाईको ऱ्यालीलाई लिएर आम मानिसहरू खासै उत्साह छैन। त्यसैले बलजफ्ती जनता तृणमूलको साथमा छन् भन्ने कुरा देखाउने चेष्टा गरिँदैछ। यसको लागि बसहरूलाई बलजफ्ती लगिँदैछ।
यद्यपि अधिकांश आम मानिसहरू यस मुद्दामा खुलेर बोल्नदेखि बचिरहेका छन्। तर बस मालिक संगठनहरूले स्वयं स्वीकार गरेका छन्, बसहरूलाई ऱ्यालीको लागि हटाइएको छ। यस मुद्दामा तृणमूलका राज्य सचिव औ आरामबाग नेता स्वपन नन्दीले खेद व्यक्त गर्दै भने, म हात जोड़ेर क्षमा चाहन्छु, तर मानिसहरूलाई सभास्थलमा लैजानका लागि बसहरूको खाँचो छ। त्यसैले यसो गर्न परिरहेको छ।
बस मालिक तरुण सरकारले बताए, हामीसित भनिएको छ कि वाहनहरूलाई हटाइयोस्। बाटोबीचमै यात्रीहरूलाई उतारेर बसलाई लगिँदैछ।
यस सम्पूर्ण घटनाक्रमले एकपटक फेरि यो प्रश्न उठाएको छ, राजनीतिक ऱ्यालीको तयारीको नाममा आम जनतालाई सताउनु उचित हो, के प्रशासनले यसमाथि कुनै कड़ा कदम उठाउनेछ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा