हामी सबैजना वैचारिक दिमाग लिएर हिँड्नुपर्छ: राजेस चौहान
सोनादा, 20 जुलाई (हि.स.)। खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति तथा अप्पर सोनादा शाखाको आयोजनामा छैंटौं वार्षिक सम्वर्द्धना समारोह सम्पन्न भएको छ। यस समारोहलाई सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए।
अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा रंगारंग सांस्कृतिक कार्यक्रमसहित कविता वाचन पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा खस प्रेरणा सम्मान आनन्द छेत्री र अर्पणा छेत्रीलाई प्रदान गरियो। यसरी नै माध्यमिक तथा उच्च माध्यमिक परीक्षा 2024 अनि 2025 मा सर्वोकृष्ट अङ्कद्वारा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पनि जनाइयो। यस अवसरमा जीटीए टप्पर अभिमन्यु भण्डारीलाई सम्वर्द्धना पनि जनाइयो भने जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई पनि सम्मान जनाइयो।
प्रमुख अतिथि जीटीए डेपुटी चेयरम्यान चौहानले आफ्नो सम्बोधनमा भने, मानव जातिमा तीन प्रकारका दिमागहरु हुन्छन् -एउटा सानो दिमाग, एउटा साधारण दिमाग र एउटा ठूलो दिमाग। सानो दिमागले मान्छेको चर्चा गर्न सिकाउँछ, साधारण दिमागले घटनाको चर्चा गर्न सिकाउँछ अनि ठूलो दिमागले जीवनको चर्चा गर्न सिकाउँछ। हामी कुन दिमाग लिएर हिँड्दैछौँ? हामी जीवनको वैचारिक चर्चा गर्ने ठूलो दिमाग लिएर हिँड्नुपर्छ। विद्यार्थीहरु नानीहरु पनि वैचारिक दिमाग लिएर हिँड्नुपर्छ।'
कार्यक्रममा अध्यक्षीय सम्भाषण समारोहका अध्यक्ष सोनादा आञ्चलिक समितिका सभापति प्रताप छेत्रीले राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक