वरिष्ठ साहित्यकार तथा अनुवादक कुबेरचन्द्र दाहालको मौलिक उपन्यास ‘टिस्टा-रङ्गीत’ लोकार्पित
वरिष्ठ साहित्यकार तथा अनुवादक कुबेरचन्द्र दाहालको मौलिक उपन्यास ‘टिस्टा-रङ्गीत’ लोकार्पित


गान्तोक, 20 जुलाई (हि.स.)। वरिष्ठ साहित्यकार तथा अनुवादक कुबेरचन्द्र दाहालको मौलिक उपन्यास ‘टिस्टा-रङ्गीत’-को आइतवार तादोङ, डाँड़ागाउँस्थित एउटा होटलमा आयोजित भव्य कार्यक्रमबीच विमोचन गरियो। सिक्किम सरकारको सड़क तथा पुलिस विभागका मन्त्री एमएन दाहाल मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा परिवार कल्याण मन्त्री एवं क्षेत्र विधायक जीटी ढुङ्गेलले गरेका थिए।

उपन्यास दाहालको टिस्टा-रङ्गीत दोस्रो कृति हो। यसभन्दा अघि उनले भारतको संविधानलाई नेपाली भाषामा पहिलोपल्ट अनुवाद गरी लगभग 30 वर्षअघि प्रकाशित गरेका थिए।

मुख्य अतिथि एमएन दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै उपन्यासकार कुबेरचन्द्र दाहालसहित दाहाल परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। आफ्नो परिवारका सदस्यले समाजका लागि उपयोगी पुस्तक रचना गरेर सम्मान बढ़ाएको जनाउँदै साहित्यप्रेमीहरूको गरिमामय उपस्थितिमा रमाइलो, ज्ञानवर्द्धक कार्यक्रम बनेको बताए।

उपन्यासकार दाहालले आफ्नो सम्बोधनमा सर्वप्रथम हालै दिवङ्गत भएका सिक्किमका पहिचान बनेका पद्मश्री सानु लामालाई ‘सन्तपुरुष’-को संज्ञा दिँदै श्रद्धासुमन अर्पण गरे। उनले आफू सिद्धहस्त उपन्यासकार नभए तापनि जातीय अस्मिताको असहज स्थितिबाट आफूलाई उकुसमुकुस भएको कारण लेख्ने धृष्टता गरेको धारणा राखे।

“मान्छेले हाँसेको भुल्न सक्छन्, तर आत्मा रोएको कहिल्यै भुल्न सक्दैनन्। भारतीय नेपाली भाषीहरूको अवस्था केही असहज छ। जातिको यो अस्थिर अवस्थाले निकास पाओस् भन्ने मेरो आन्तरिक चाहना हो। यसै हुटहुटीले मलाई यो उपन्यास लेख्न हौसला दियो।” उनको यो उपन्यासमा टिस्टा वारि र पारि बसोबास गर्ने नेपाली भाषीहरूको चाहना एक दिन अवश्य पूरा हुने आशा व्यक्त गरिएको छ।

लगभग 30 वर्षपछि आफ्नो दोस्रो पुस्तक सार्वजनिक गरिरहेका दाहालले भने, “लेखन कार्य आमाको प्रशव पीड़ा जत्तिकै हुँदो रहेछ। नेपाली भाषीहरूको युगौँदेखिको अस्थिर अवस्थाले मलाई जीवनको उपल्लो उमेरमा पनि यो उपन्यास सिर्जना गर्न हौसला दिएको छ।” उनले यो पुस्तक प्रकाशित गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार तथा कृतज्ञता प्रकट गरे।

टिस्टा-रङ्गीत मौलिक तथा ऐतिहासिक उपन्यास सिलगढ़ीको सालबारी आधारित बुकआन्ट पब्लिकेशनले प्रकाशित गरेको छ। बुकआन्टका निर्देशक तथा चर्चित कवि राजा पुनियानीले कार्यक्रमलाई सम्बोधन गर्दै दार्जीलिङ र सिक्किममाझ प्रेमपूर्ण सम्बन्ध कायम रहेको हेर्ने चाहना व्यक्त गरे। उनले नेपाली भाषीहरू आफ्नै भाषालाई लिएर एकढिक्का हुन सकेकै कारण यस्तो अवस्था अघि आएको धारणा राखे।

यसभन्दा अघि पुस्तकको निरुपण मन्तव्य राख्दै कमल काफ्लेले रोचक तथ्यहरू अघि राखेर सबैलाई मन्त्रमुग्ध पारे। उनले पुस्तकको एकाध अंशको व्याख्या गर्दै यो उपन्याससँगै जातिको अवस्थालाई केन्द्रमा राखेर अध्ययन गर्न सुझाउ दिए।

यसभन्दाअघि अभिनेता, निर्देशक, नाटककार तथा साहित्यकार चुनिलाल घिमिरेले स्वागत सम्बोधनसँगै उपन्यासकारको परिचय प्रस्तुत गरे। उनले भारतमा पहिलोपल्ट भारतको संविधान अनुवाद गर्ने कुबेरचन्द्र दाहालले सिक्किमेली नेपाली साहित्य र सङ्घ-संस्थामार्फत समाजसेवामा गरेको कार्यबारे जानकारी दिए।

उनले भने, “भारतको संविधान नेपाली भाषामा पहिलोपल्ट अनुवाद गर्ने व्यक्ति हुन् कुबेरचन्द्र दाहाल। उनले 20 वर्ष खर्चेर सो पुस्तक तयार गरे, तर समाजले उनको अवदानको मूल्याङ्कन गरेजस्तो लाग्दैन।”

कार्यक्रममा नेपाल पोइट आइडलकी विजेता नीलम गुरुङले सुन्दर कविता वाचन गरिन् भने गायिका सपना छेत्रीले सुमधुर गीत प्रस्तुत गरिन्। कार्यक्रममा मुख्यमन्त्रीका प्रधान सचिव तथा साहित्य अकादमी पुरस्कार विजेता एसडी ढकाल, नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, केएन शर्मा, प्रद्युम्न श्रेष्ठ, रुद्र पौड्याल, विभिन्न कलेजका प्राध्यापकसहित वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande