अबिन राई बने प्रथम सिक्किम सारथी आइडल 2025 विजेता
अबिन राई बने प्रथम सिक्किम सारथी आइडल 2025 विजेता


गान्तोक, 20 जुलाई (हि.स.)। सेण्ट्रल जोइन्ट एक्शन कमिटी अल लोकल ट्याक्सी गान्तोकको तत्वावधानमा आयोजित सिक्किम सारथी आइडल 2025 को ग्राण्ड फिनाले आज विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ राजधानीको मनन केन्द्रमा सम्पन्न भयो। प्रतिस्पर्धी अबिन राईले प्रथम सिक्किम सारथी आइडल 2025 को उपाधि आफ्नो नाम गर्न सफल बनेका छन्।

कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई, सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

कुल सात जना प्रतियोगीहरू फाईनलमा पुगेका थिए, जसमा पासाङ दावा तामाङ, सन्तोष मगर, गुञ्जन लोहार, आनन्द गुरूङ, किरण छेत्री, शरण तामाङ र अबिन राई सामेल रहेका थिए। उनीहरूले नेपाली र हिन्दी गीत प्रस्तुत गरे भने अतिथि गायक फौदासिंह गुरूङले पनि महिला र पुरूषको स्वरमा गीत गाएर उपस्थित दर्शकवृन्दलाई मन्त्रमुग्ध पारेका थिए।

कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीद्वारा सारथी आईडलको आधिकारिक गीत लोकार्पण गरियो। यस प्रतियोगिताका अन्य उपविजेताहरूमा आनन्द गुरूङ दोस्रो र पासाङ दावा तामाङ तेस्रो भए। विजेता र उपविजेताहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा पुरस्कृत गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande