
नयाँ दिल्ली, 02 जून (हि.स.)। केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) को अङ्कको प्रमाणिकरण र उत्तरपत्रको पुनर्मूल्यांकनका लागि अनलाइन पोर्टल मङ्गलबारदेखि सञ्चालनमा आएको छ। सीबीएसईले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा कक्षा 10 र 12 का विद्यार्थीहरूका लागि आधिकारिक अनलाइन पोर्टल अब सक्रिय भएको जानकारी दिएको छ। आधिकारिक अधिसूचना सीबीएसईको मुख्य वेबसाइटमा जारी गरिएको छ।
यसअघि मे २६ मा सञ्चालनमा आउने तय भएको उक्त अनलाइन पोर्टल प्राविधिक समस्याका कारण निर्धारित समयमा शुरु हुन नसकेपछि आवेदन अवधि बढाएर जून १ सम्म पुर्याइएको थियो। तर अन्य कारणवश उक्त दिन पनि पोर्टल सञ्चालनमा आउन सकेन। अन्ततः आजदेखि पोर्टल सञ्चालनमा आएको छ।
सीबीएसईले विद्यार्थीहरूका लागि आधिकारिक पोर्टल postresult.cbseit.in/pvr/ सार्वजनिक गरेको छ। यस पोर्टलमार्फत विद्यार्थीहरूले अंक प्रमाणीकरण तथा उत्तरपुस्तिका पुनर्मूल्यांकनका लागि उपलब्ध निर्देशात्मक भिडियोहरू हेरेर आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।
उल्लेखनीय छ, सीबीएसईले आफ्ना बोर्ड परीक्षाका अङ्कहरूबाट असन्तुष्ट विद्यार्थीहरूलाई आफ्ना प्रतिलिपिहरू पुनः जाँच गर्ने अवसर दिइरहेको छ। यो प्रक्रिया मुख्यतया तीन चरणमा हुनेछ। पहिलो चरण अङ्कको प्रमाणिकरण हुनेछ, दोस्रो चरण मूल्यांकन पानाको फोटोकपी र तेस्रो चरण पुनर्मूल्यांकन हुनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी