आकाशवाणीद्वारा पद्मश्री पर्यावरणविद् डा जीएस योञ्जनलाई सम्मान
GS Yonjon


यहाँको चियापत्ती विषयमा सिलिवेशमा समावेश गरेर पढाउन सकिए धेरै राम्रो हुनेछ: डा जीएस योञ्जन

मिरिक, 02 जून (हि.स.)। आकाशवाणी खरसाङको 65औं स्थापना दिवसको अवसरमा आकाशवाणी खरसाङको तर्फबाट पद्मश्री रस्कारले सम्मानित एवं पर्यावरणविद् डा गम्भीरसिंह योञ्जन (जीएस योञ्जन) लाई सम्मान जनाइएको छ। मिरिकको गोपाल योञ्जन अडिटोरियममा सम्पन्न आकाशवाणीको 90 वर्ष पुगेको र आकाशवाणी खरसाङको 65 औं स्थापना दिवस कार्यक्रममा उनलाई कार्यक्रमको विशिष्ट अतिथिद्वय कार्यालय प्रमुख एवं क्लस्टर हेड अनि आकाशवाणी खरसाङको कार्यक्रम सह निर्देशक राजीव सुब्बाको बाहुलीबाट खदार्पणसहित शिर शोभा, शल ओढाएर साथै सम्मान पत्रद्वारा सम्मान जनाइयो।

यस कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। उनलाई सम्मान जनाइएको सम्मान पत्र आकाशवाणी खरसाङकी उदघोषिका रश्मी खवासले पठन गरेकी थिइन्। कार्यक्रमलाई वरिष्ठ उद्घोषक उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए।

यस अवसरमा आफ्नो सम्भाषण राख्दै पर्यावरणविद् गम्भीरसिंह योञ्जनले आकाशवाणी खरसाङले विगत 65 वर्षदेखि पहाडका नेपाली भाषीहरुका लागि साहित्य, संगीत, कलामा धेरै कार्य गर्दै आईरहेको बताएका छन्। उनले आकाशवाणीले पहाडको साहित्य, संगीत र कलामा धेरै सहयोग गरेको बताउँदै आकाशवाणी खरसाङले पहाडको कला, साहित्य, शिक्षा र अन्य धेरैलाई देशभरि चिनाउन सकेको बताए।

उनले आफ्नो सम्बोधनमा पद्मश्री पुरस्कार र आफुले गरेका विभिन्न कार्यहरु विषयमा पनि संक्षिप्तमा बताएका थिए। उनले आफ्नो सम्बोधनमा आफुले दार्जिलिङ पहाडमा विश्वविद्यालय स्थापनाको लागि २००२ देखि कार्य गर्दै आएको बताउँदै यहाँको चियाबारी र चियापत्ती विषयमा सिलिवेशमा समावेश गरेर पढाउन सकिए धेरै राम्रो हुनेछ भनी बताए। उनले यहाँको चिया उद्योग विषयमा शिक्षा दिन आवश्यक छ भन्दै पहाडमा भएको चियापत्ती विषयमा विश्वविद्यालयको सिलिवेशमा समावेश गरेर पढाउनु पर्ने कुरामा जोड दिए।

उनले भने, यहाँका विभिन्न समस्याहरु, यहाँका आवश्यकताहरू, यहाँको पर्यावरण र यहाँका आफ्नै विभिन्न कुराहरु पढाउन सकिए राम्रो हुनेछ। सरकारले शिक्षा नीति 2020 ल्याएर राम्रो काम गरेको छ। तर पनि हरेक राज्य र हरेक केन्द्र शासित प्रदेशहरुको आफ्नै शिक्षा व्यवस्था हुन आवश्यक छ र त्यही अनुसार शिक्षा प्रदान गर्न सकिए धेरै राम्रो हुनेछ। हाम्रो 'इन्भेष्टमेन्ट विदाउट रिटर्न्स' जस्तो शिक्षा व्यवस्था हुनु हुँदैन।'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande