
पाकिम, 02 जून (हि.स.)। पाकिम जिल्लाको आहो-याङताम सडकको जीर्ण अवस्थासम्बन्धी प्राप्त जनगुनासोका आधारमा जिल्लापाल परी बिश्नोईले आज अतिरिक्त जिल्लापाल पुलकितसहित प्रभावित सडक खण्डको स्थलगत निरीक्षण गरिन्। निरीक्षणमा पञ्चायत प्रतिनिधिहरू, ग्रामीण विकास विभाग र सडक तथा पुल विभागका अधिकारीहरू तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा सडकमुनि भइरहेको निर्माण कार्यका कारण सडकको एक भाग क्षतिग्रस्त भएको र यसले स्थानीय जनजीवन तथा आवागमनमा बाधा उत्पन्न गरेको पाइएयो। उक्त सडक राष्ट्रिय राजमार्ग ७१७ए सँग जोडिएको महत्वपूर्ण मार्ग हुनुका साथै चारवटा ग्राम पञ्चायत एकाईलाई समेत जोड्ने भएकाले स्थानीय बासिन्दाहरू दैनिक कार्य सञ्चालनमा कठिनाई भोगिरहेका छन्।
जिल्लापाल परी बिश्नोईले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै क्षतिको अवस्थाको मूल्याङ्कन गरिन्। उनले सडकको यस्तो अवस्था सिर्जना हुनुका कारणबारे जानकारी लिँदै समस्या समाधानका लागि भइरहेको अस्थायी पुनर्स्थापना कार्यको पनि समीक्षा गरिन्। उनले सम्बन्धित सबै विभागहरूको सहभागितामा एक समिति गठन गरी सडक मर्मतसम्भार, पुनर्स्थापना उपायहरू तथा क्षतिको प्राविधिक कारणबारे विस्तृत अध्ययन गरेर समयमै प्रतिवेदन पेश गर्न निर्देशन दिइन्।
निरीक्षणका क्रममा फोहोर व्यवस्थापनसम्बन्धी समस्या पनि देखिएकाले उनले क्षेत्रको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताइन्। साथै, मनसुनको समयमा सम्भावित जोखिम न्यूनीकरणका लागि पानीको सहज निकास सुनिश्चित गर्न पर्याप्त नाली व्यवस्थापनको आवश्यकता औंल्याउँदै सम्बन्धित निकायहरूलाई आवश्यक कदम चाल्न उनले निर्देशन दिइन्।
एडीसी पुलकितले समस्याको समाधानका लागि विभिन्न सुझाउहरू प्रस्तुत गर्दै जनतालाई हुने असुविधा कम गर्न क्षतिग्रस्त सडकको शीघ्र पुनर्स्थापनामा जोड दिए।
सडक तथा पुल विभागका अधिकारीहरूले क्षतिग्रस्त सडक खण्डको स्थायी पुनर्स्थापना कार्य शुरु भइसकेको जानकारी गराउँदै पुनर्स्थापना सम्पन्न नभएसम्म सुरक्षित आवागमन सुनिश्चित गर्न अस्थायी उपायहरू लागू गरिने बताएका छन्।
यसका अतिरिक्त, स्थानीय बासिन्दाहरूले आफ्ना गुनासा तथा समस्याहरू पनि राखेका थिए, जसलाई सम्बन्धित अधिकारीहरूले सम्बोधन गर्दै यथाशीघ्र समाधानका लागि आवश्यक सहयोग प्रदान गरिने आश्वासन दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल