टिस्टा नहरमा डुबेर दुई किशोरको मृत्यु
टिस्टा नहरमा डुबेर दुई किशोरको मृत्यु


सिलगढ़ी, 02 जून (हि. स.)। सिलगढ़ीको फूलबाड़ी-गाजोलडोबा टिस्टा क्यानाल रोडस्थित पारोमुण्डा क्षेत्रमा मङ्गलवार अपरान्ह दुई जना किशोरहरूको डुबेर मृत्यु भयो। मृतकहरूको पहिचान दीप विश्वास र कृष्ण मण्डलको रूपमा भएको छ जो अम्बिका नगर क्षेत्रका बासिन्दा थिए।

प्राप्त जानकारी अनुसार चार जना साथीहरू साइकल मार्फत नुहाउनका लागि बाटोमै रहेको सब-क्यानलमा पुगेका थिए। नुहाउँदै जाँदा दीप र कृष्ण पानीभित्र पसे, तर केही क्षणमै उनीहरू गहिरो पानीमा डुबे। अन्य साथीहरूले हार-गुहार माग्दै चिच्याउँदा स्थानीय मानिसहरू घटनास्थलमा पुगे।

सूचना पाएर पुलिस पनि घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको सहयोगमा पुलिसले खोजी अभियान सञ्चालन गऱ्यो। पछि दुवै किशोरको शव पानीबाट निकालियो। शवहरूलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। यस घटनापछि सम्पूर्ण क्षेत्र गहिरो शोकमा डुबेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande