
- आकाशवाणीले साहित्य, कला, शिक्षा, सङ्गीत र खेलकुदलाई संरक्षण गर्दै आएको छ: जितेन कुमार रोय
मिरिक, 02 जून (हि.स.)। आकाशवाणीको ९०औं अनि आकाशवाणी खरसाङको ६५औं स्थापना दिवस आज मिरिकको कृष्ण नगरस्थित गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उमेश कार्कीढोली अनि सविता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा पद्मश्री डा. जीएस योञ्जन प्रमुख रूपमा उपस्थित थिए।
कार्यक्रममा आकाशवाणीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोय, आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक राजीव सुब्बा, कार्यक्रम निष्पादकद्वय मनन तामाङ र योजना मोहरा, प्रसारण निष्पादक लेखनाथ राई, समाचार विभाग प्रभारी अशोक चौरासिया, साहित्य सुनौँ परिवारका अध्यक्ष अमर दुङ्गमाली, गोपाल योञ्जन प्रतिष्ठान मिरिकका अध्यक्ष सुकबहादुर गजमेर, सूचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई लगायत आकाशवाणी खरसाङका कर्मचारी साथै अन्यको उपस्थिति रहेको थियो।
आकाशवाणी खरसाङकका कार्यक्रम सह निर्देशक राजीव सुब्बाले स्वागत सम्भाषण राखेको कार्यक्रममा अतिथि कलाकारहरू वरिष्ठ गायिका तथा सङ्गीतकार हिरा रसाईली, प्रवल थापा, रन्जिता सुनार, अभिनव रसाईली र सुशान्त मोक्तानले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रममा आकाशवाणी सिलगढीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोयले आफ्नो वक्तव्यमा आकाशवाणी 8 जून, 1936 देखि अल इण्डिया रेडियोको नाममा शुरु भएको र यसलाई कवि गुरु रबिन्द्रनाथ टेगोरले आकाशवाणीको नाम दिएको बताए। उनले आकाशवाणी खरसाङको स्थापना 2 जून, 1962 मा भएको बताउँदै आकाशवाणी खरसाङले पहाडको साहित्य, कला, शिक्षा, सङ्गीत, खेलकूदलाई संरक्षण गर्न र कलाकारहरुलाई मञ्च प्रदान गर्दै आएको बताए।
यस साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु र साङ्गीतिक टोलीका सदस्यहरुलाई विशिष्ट अतिथि रोयको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक मनन तामाङले राखेका थिए।
कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक राजीब सुब्बाले आकाशवाणीको गौरवशाली 90 वर्ष पुगेको अवसरमा गत 8 जून, 2025 देखि 8 जून, 2026 सम्म विविध कार्यक्रमहरू आयोजना गरिएको बताए। यसै क्रममा आज मिरिकमा एक साङ्गीतिक कार्यक्रम आयोजना गरिएको उनले बताए। उनले आकाशवाणीको यस कार्यक्रममा उपस्थित अतिथिहरु र सहभागी सबै कलाकारहरुलाई आकाशवाणीको तर्फबाट धन्यवाद दिए।
हिन्दुस्थान समाचार / हनोक