
बीरभूम, 03 जून (हि.स.)। पश्चिम बङ्गालको बीरभूम जिल्लामा फेरि एकपटक राजनीतिक हिंसा भएको मामिला सार्वजनिक भएको छ। बोलपुर थाना अन्तर्गत बाहिरी पाँचशोया ग्राम पञ्चायतको बाहिरी पूर्वपाड़ा गाउँमा एकजना तृणमूल कार्यकर्ताको कुटेरै हत्या गरिएको आरोप उपद्रवीहरूमाथि लागेको छ। मृतकको पहिचान हाबल लोहार (48)-को रूपमा भएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ।
स्थानीय मानिसहरू तथा परिवारजनले बुधवार बताए, गए मङ्गलवार अबेर राती हतियारधारी केही मानिसहरू हाबलको घरमा आए। परिवारको आरोप अनुसार हतियारधारीहरूलाई भाजपा समर्थकको रूपमा चिनिन्छ। लौरो, फलामको रड र धारिलो हतियारद्वारा लैस हमलाकारीहरूले हाबल लोहरमाथि अचानक हमला गरेर मरूञ्जेल कुटे।
परिवारजनको दाबी छ, हमलाकारीहरूको बर्बर कुटपिटले गम्भीर रूपमा घाइते हाबल रगतपच्छे भएर घटनास्थलमै मुर्छित परे। पछि तिनलाई गम्भीर अवस्थामा अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले तिनलाई बचाउन सकेनन्। परिवारको आरोप छ, कुटेको कारणले नै उनको मृत्यु भएको हो।
घटनाको सूचना पाउनसाथ बोलपुर थानाको पुलिस घटनास्थलमा पुग्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस बललाई तैनाथ गरियो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ भने अर्कोतिर मामिलाको जाँच शुरू गरिएको छ।
तृणमूल कङ्ग्रेस नेतृत्वको आरोप छ, राजनीतिक प्रतिशोध अन्तर्गत उनीहरूका सक्रिय कार्यकर्ताको सुनियोजित ढङ्गमा हत्या गरियो। जबकि भाजपाले उक्त आरोपलाई शिराबाटै खारेज गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा