
मुजफ्फरपुर, 04 जून (हि.स.)। बिहारको मुजफ्फरपुर शहरको ब्रह्मपुरा थाना क्षेत्रअन्तर्गत प्रसाद अस्पतालको आईसीयूमा बिहीबार बिहान करिब ३ बजी अचानक आगलागी हुँदा हालसम्म चार जनाको मृत्यु भएको छ भने २० भन्दा बढी व्यक्ति गम्भीर रूपमा जलेका छन्। वरिष्ठ पुलिस अधीक्षक कान्तेश मिश्राले यस घटनाको पुष्टि गरेका छन्। उनले उद्धार कार्य जारी रहेको बताए।
प्रत्यक्षदर्शीहरूका अनुसार, आगलागी भएपछि अस्पतालमा भर्ना भएका बिरामी र उनीहरूका आफन्तबीच हाहाकार मच्चिएको थियो। आईसीयूमा रहेका बिरामीहरूलाई बाहिर निकाल्न उद्धार तथा राहत टोलीले निकै कठिन प्रयास गर्नुपरेको थियो। केही समयमै धुवाँ सम्पूर्ण अस्पतालभर फैलियो।
सूचना प्राप्त हुनासाथ दमकल विभागका करिब एक दर्जन गाडी घटनास्थलमा पुगेका थिए। अग्निनियन्त्रकहरूले तत्काल उद्धार अभियान शुरु गर्दै अस्पतालका विभिन्न वार्डमा फसेका बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरे। धेरै बिरामीहरूलाई झ्याल र ढोका फोडेर बाहिर निकालिएको थियो। त्यसपछि उनीहरूलाई नजिकका सुरक्षित अस्पतालहरूमा भर्ना गरियो।
अग्निशमन विभागका अधिकारीहरूका अनुसार, बिहान करिब ३ बजी आगलागी भएको सूचना प्राप्त भएको थियो। टोली अस्पताल पुग्दा आईसीयू वार्ड धुवाँले भरिएको थियो। उद्धार अभियानका क्रममा धेरै बिरामीहरूलाई गम्भीर अवस्थाबाट बाहिर निकालियो।
अधिकारीहरूका अनुसार, उद्धार कार्यका क्रममा २० भन्दा बढी व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। धेरै बिरामीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण सर्ट सर्किट भएको अनुमान गरिएको छ। प्रशासनले अस्पताल परिसरलाई नियन्त्रणमा लिएर प्रमाण सङ्कलनको प्रक्रिया शुरु गरेको छ।
अग्निशमन विभागका अधिकारीहरूले घटनास्थलमा पुग्दा अस्पतालका अधिकांश कर्मचारी त्यहाँ उपस्थित नभएको पनि बताएको छ। यस तथ्यले अस्पताल व्यवस्थापनको जिम्मेवारी र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी