चुम्लोकमा ‘खेत बचाउ अभियान’ को औपचारिक शुभारम्भ
खेत बचाउ अभियान


नाम्ची, 04 जून (हि.स.)। नाम्ची जिल्लाको सिकिप ब्लकअन्तर्गत चुम्लोक कृषि कार्यालयमा ‘खेत बचाउ अभियान’ को औपचारिक शुभारम्भ गरिएको छ। कार्यक्रममा उप-पञ्चायत अध्यक्ष किरण याखा, उप-निर्देशक डा. नेसन राई, कृषि विकास अधिकारी विजय प्रधान तथा कृषि/बागवानी विभागका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

‘खेत बचाउ अभियान’ १ जूनदेखि ३० जून, २०२६ सम्म मनाइने भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयको नेतृत्वमा सञ्चालन भइरहेको एक महिनाव्यापी राष्ट्रिय कृषि अभियान हो। यस अभियानअन्तर्गत विभिन्न किसान कल्याण योजनाहरूलाई गाउँस्तरमा एकीकृत रूपमा सञ्चालन गरिनेछ। साथै, जैविक मलको उचित प्रयोग, एकीकृत पोषण व्यवस्थापन, हरियो मल लगायतका विषयमा किसानहरूलाई जानकारी प्रदान गरिनेछ।

प्रधानमन्त्री किसान सम्मान निधि, किसान क्रेडिट कार्ड तथा प्रधानमन्त्री फसल बीमा योजना जस्ता योजनाहरूमा किसानहरूको नाम दर्ता गर्ने कार्य पनि अभियानको क्रममा गरिनेछ। यसैगरी, जिल्लाभरि गाउँस्तरीय जनचेतनामूलक कार्यक्रम, स्थलगत प्रदर्शन तथा किसान दर्ता अभियानहरू एटीएमए, कृषि विभाग तथा कृषि विज्ञान केन्द्रको सहकार्यमा सञ्चालन गरिनेछ।

अधिकारीहरूले यस अभियानले सिक्किममा दिगो तथा जैविक खेती प्रणालीलाई अझ सुदृढ़ बनाउनुका साथै किसानहरूको आय वृद्धि र कृषि क्षेत्रको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande