
दासपुर, 04 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दासपुर थाना अधिनस्थ सातपोता गाउँमा एकजना टोटो चालकको शव घरभित्रै गलफन्दामा झुण्डिरहेको अवस्थामा फेला पऱ्यो। घटनापछि क्षेत्रमा शोक फैलिएको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
मृतकको पहचान सूरज पाल (22)- को रूपमा भएको छ जो पेशाले टोटो चालक थिए। पारिवारिक सूत्रानुसार गए बुधवार राती सूरज आफ्नी पत्नी फाल्गुनी पालसित बसेर भोजन गरेपछि सुत्नका लागि अर्को कोठामा गए।
बिहीवार बिहान अबेरसम्म पनि कुनै गतिविधि नदेखिएपछि पिता पञ्चानन पाल र पत्नीले उसलाई बोलाए। तर भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसपछि परिवारजनलाई शङका लाग्यो। ढोका भत्काएर भित्र हेर्दा सूरजलाई झुण्डिरहेको देखियो। त्यसपछि घरमा कोकोहोलो मचियो।
स्थानीय मानिसहरूले बताए, सूरजले आफू पछि पत्नी र लगभग दुई वर्ष पुगेकी छोरीलाई छोड़ेर गएका छन्। उसको असामयिक मृत्युले परिवारमा दुःखको वज्र परेको छ।
सूचना पाएर दासपुर थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको सबै कोणबाट जाँच गरिरहेको छ। प्रारम्भिक रूपमा यसलाई आत्महत्याको मामिला मानिँदैछ। तथापि मृत्युको वास्तविक कारण पोस्टमर्टम रिपोर्ट आएपछि नै खुलासा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा