
गान्तोक, 04 जून (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज मेघालयको राजधानी शिलाङमा आयोजित पूर्वोत्तर परिषद् (एनईसी) को ७३औँ पूर्ण बैठकमा सहभागिता जनाए। केन्द्रिय गृहमन्त्री तथा पूर्वोत्तर परिषद्का अध्यक्ष अमित शाहको अध्यक्षतामा सम्पन्न उक्त उच्चस्तरीय तथा महत्वपूर्ण बैठकमा केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास (डोनर) मन्त्री ज्योतिरादित्य एम. सिन्धिया सहित पूर्वोत्तर राज्यहरूका राज्यपालहरू, मुख्यमन्त्रीहरू तथा वरिष्ठ अधिकारीहरूले पूर्वोत्तर क्षेत्रको समृद्धि, सर्वाङ्गीण विकास र सुदृढ़ सम्पर्क विस्तारप्रति आफ्नो साझा प्रतिबद्धता पुनः व्यक्त गरे।
लोक भवनका अनुसार, बैठकका क्रममा राज्यपालले सिक्किमका भौगोलिक तथा रणनीतिक आवश्यकताहरूलाई उजागर गर्दै आफ्नो लिखित मन्तव्य प्रस्तुत गरे। उनले विशेष रूपमा विकास, सड़क तथा हवाई सम्पर्कसँग सम्बन्धित विषयहरूमा जोड दिँदै प्राकृतिक विपद्को समयमा समेत सिक्किम भारतका अन्य भागहरूसँग निरन्तर जोडिरहन सक्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले सुदृढ़ सम्पर्क पूर्वाधारले राज्यको विकासलाई नयाँ गति प्रदान गर्ने र सिक्किमको समग्र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल