
पुरुलिया, 04 जून (हि.स.)। पश्चिम बङ्गालको पुरुलिया जिल्लामा भारतीय जनता पार्टी (भाजपा)- का सांसद एवं प्रदेश भाजपाका महासचिव ज्योतिर्मय सिंह महतोलाई लक्षित गरेर धम्कीपर्ण पोस्टर टाँसिएको मामिला बाहिरिएको छ। पोस्टरमा सांसदको हत्या गर्नेलाई एक लाख रुपियाँ पुरस्कार दिइने घोषणा समेत गरिएको छ।
जानकारी अनुसार गए बुधवार यो पोस्टर पुरुलियाको कोटशिला थाना क्षेत्रमा देखियो। सेतो कागजमा नीलो रङ्गले लेखिएको पोस्टरमा आरोप लगाइएको छ, सरकारले घरहरू भत्काइरहेको छ जसको लागि सांसद जिम्मेवार छन्। साथै उनलाई ज्यानमारा धम्की पनि दिइएको छ।
पोस्टरमा स्थानीय बोलीको प्रयोग गरिएको छ। यसमा भनिएको छ, यदि घर भत्काउने कारबाही जारी रहे यसको गम्भीर परिणाम हुनेछ। पोस्टरको अन्तमा सांसदको हत्या गर्नेलाई एक लाख रुपियाँ दिने घोषणा गरिएको छ।
घटनापछि गए अबेर साँझ सांसदले पुरुलियाका पुलिस अधीक्षकलाई लिखित सिकायत दिएका छन्। उनले आशङ्का व्यक्त गरेका छन्, यसको पछाड़ि कुनै उग्रवादी वा माओवादी तत्वहरू लुकेको हुनसक्छ। तथापि पुलिसले अहिले नै कुनै सङ्गठन वा व्यक्ति संलिप्त रहेको पुष्टि भने गरेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा