
मेदिनीपुर, 04 जून (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको महिषादलबाट तृणमूल कङ्ग्रेसका पूर्व विधायक तिलक कुमार चक्रवर्तीलाई पुलिसले पक्राउ गरेको छ। उनीमाथि नोकरी दिलाउने नाममा मानिसहरूबाट पैसा लिएको र ठगेको आरोप लागेको छ। पुलिसले गए बुधवार राती उनको तेरपेख्यास्थित आवासबाट उनलाई पक्राउ गरेको हो।
जानकारी अनुसार पछिल्लो वर्ष 2021- को विधानसभा चुनाउमा तिलक कुमार चक्रवर्ती तृणमूल कङ्ग्रेसको टिकटमा महिषादलबाट विधायक चुनिएका थिए। विधायक भएदेखि नै उनीमाथि नोकरी दिलाउने नाममा धेरै जना मानिसहरूलाई ठगेको सिकायत आइरहेको थियो। त्यसबेला पनि यस मामिलामा चर्चा भएको थियो। पुलिसमा सिकायत पनि दर्ता गराइएको थियो।
यस वर्ष 2026- को विधानसभा चुनाउमा तृणमूलले उनलाई फेरि उम्मेद्वार बनाएको थियो, तर उनी भाजपा उम्मेद्वार सुभाष चन्द्र पाञ्जासित 25 हजारभन्दा अधिक मतले परास्त भए। राज्यमा सत्ता परिवर्तन भएपछि नयाँ सरकारले पुरानो भ्रष्टाचार र अनियमितताहरूसित सम्बन्धित मामिलाहरूको जाँच शुरू गरेको छ। यसै क्रममा तिलक कुमार चक्रवर्तीविरूद्ध पनि जाँचलाई तीव्रता दिइयो।
पुलिस सूत्र अनुसार गए बुधवार राती लगभग 10:40 बजे पुलिसको एक टीमले उनको गाउँमा अवस्थित घरमा छापा मारेर उनलाई पक्राउ गऱ्यो। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।
उल्लेखनीय छ, राजनीतिमा सामेल हुनअघि तिलक कुमार चक्रवर्तीले महिषादलमा साइकल दोकान सञ्चालन गर्दै आएका थिए। पछि उनी सक्रिय राजनीतिमा आएपछि विधायकसम्म भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा