खरसाङका मुनेषचन्द्र तामाङको भारतीय सेनामा उच्च पदमा पदोन्नति
मुनेषचन्द्र तामाङ


खरसाङ, 04 जून (हि.स.)। खरसाङका छोरो मुनेषचन्द्र तामाङको भारतीय सेनामा ब्रिगेडियरबाट मेजर जनरल पदमा पदोन्नति भएको छ। उनी पहिलो पटक १९९५ मा शिलङ असम रेजिमेन्टमा कमिसन्ड अफिसरको रूपमा सामेल भएका थिए। उनी खरसाङवासी पिता स्व. नवीनचन्द्र ब्लोन र माता बिजया ब्लोनका सुपुत्र हुन्।

भारतीय सेनाको मेजर जनरल जस्तो उच्च पदमा पुग्ने मुनिषचन्द्र तामाङ खरसाङका पहिलो तथा दार्जिलिङका दोस्रो व्यक्ति हुन्। हिजो ३ जूनमा आफ्नो जन्मदिनको अवसरमा उनी ब्रिगेडियरबाट मेजर जनरल पदमा पदोन्नति भएको जानकारी प्राप्त भएको छ।

मुनेषचन्द्र तामाङको गरिमामय पदमा पदोन्नतिको सुखद् खबरले हामी गौरवान्वित भएका छौँ भनी गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले बताएकी छन्। उनले भनिन् 'यस्तो श्रेष्ठ पदमा खरसाङका भूमिपुत्र विराजमान हुनुले समस्त खरसाङवासी लगायत समग्र भारतीय गोर्खाहरूको निम्ति गर्वको विषय भएको छ। बिजया दिदी अनि सम्पूर्ण परिवार लगायत मेजर जेनरल महोदयलाई लाखौँलाख बधाई शुभकामना व्यक्त गर्दछौँ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande