अप्पर सोनादामा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न, पेम्बा तामाङ अध्यक्ष चयनित
अप्पर सोनादामा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न


सोनादा, 04 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ समष्टिको अप्पर सोनादामा गोरामुमोको एक साङ्गठनिक सभा आज सम्पन्न भयो। अन्तरे राईको अध्यक्षतामा बसेको उक्त सभाले संगठन सुदृढीकरण तथा विस्तारलाई केन्द्रमा राखेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको बताइएको छ।

गोरामुमो सोनादा पचेङ समष्टिका अध्यक्ष भुपेन गुरुङ तथा सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीको विशेष उपस्थिति आयोजित सभामा उपस्थित नेताहरूले संगठनलाई अझ सशक्त र जनमुखी बनाउन जनसम्पर्क तथा जनसेवामूलक गतिविधिहरूलाई तीव्रता दिनुपर्ने कुरामा जोड दिए।

सभामा सर्वसम्मतिले पुरानो शाखा कमिटी विघटन गरी नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पारित गरियो। नवगठित अप्पर सोनादा शाखा कमिटीमा अध्यक्ष पेम्बा तामाङ, उपाध्यक्ष राजेन शेर्पा, सचिव राजेन तामाङ, सह सचिव मिलन राई तथा कोषाध्यक्ष दिनेश साम्पाङ चयन भएका छन्। यसका साथै, 10 जनालाई कार्यकारिणी सदस्य चयन गरिएको छ।

समष्टि अध्यक्ष भुपेन गुरुङले पार्टीको सिद्धान्त, नीति तथा अनुशासनलाई आत्मसात गर्दै जाति र माटोको हितका निम्ति समर्पित भएर कार्य गर्न आह्वान गरे। उनले संगठनको एकता, समर्पण र जनविश्वास नै गोरामुमोको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे। यस अवसरमा सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनमा सोनादा क्षेत्रबाट महत्वपूर्ण योगदान पुऱ्याएका वरिष्ठ योद्धा अन्तरे राईलाई सम्मान जनाइयो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande