
गान्तोक, 05 जून (हि.स.)। केन्द्रिय एकीकृत कीट व्यवस्थापन केन्द्र (सीआईपीएमसी), गान्तोकले राष्ट्रव्यापी एक महिने ‘खेत बचाओ अभियान’ अन्तर्गत ४ जूनमा गान्तोक जिल्लाको राक्दोङ-तिन्तेक ब्लकअन्तर्गत साम्दोङ गाउँमा जैविक खेतीमा एकीकृत कीट व्यवस्थापन (आईपीएम) प्रवर्द्धनसम्बन्धी कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो।कार्यक्रममा लगभग ९० जना किसान, प्रगतिशील कृषक तथा राज्य कृषि विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।
सहभागीहरूलाई सम्बोधन गर्दै सीआईपीएमसी गान्तोकका उपनिर्देशक डा. ए. चक्रवर्तीले जैविक खेतीमा एकीकृत कीट व्यवस्थापनको महत्वबारे प्रकाश पारे। उनले पर्यावरण संरक्षण गर्दै कृषि उत्पादन वृद्धि गर्न दिगो कीट व्यवस्थापन अभ्यासहरू अपनाउनुपर्ने आवश्यकतामाथि जोड दिए। साथै, किसानहरूले आफ्नो माटोको आवश्यकता बुझ्न माटो स्वास्थ्य कार्ड अनिवार्य रूपमा बनाउनुपर्ने कुरामा पनि उनले विशेष जोड दिए।
आईसीआरआईका वैज्ञानिक डा. टीएन डेकाले ठूलो अलैंचीमा लाग्ने कीरा तथा रोग व्यवस्थापनबारे विस्तृत प्रस्तुति दिए। उनले बालीमा हुने क्षति न्यूनिकरणका लागि अपनाउन सकिने व्यावहारिक उपायहरूबारे जानकारी गराए।
सीआईपीएमसी गान्तोकका सहायक निर्देशक रोमन लेप्चाले बीउ उपचार प्रक्रिया, विभिन्न प्रकारका जैविक कीटनाशक, फेरोमोन ट्र्यापको प्रयोग तथा राष्ट्रिय कीट निगरानी प्रणाली सम्बन्धी जानकारी दिए।
कार्यक्रमको मुख्य आकर्षण जैविक कीटनाशक प्रयोग गरी बीउ उपचार गर्ने तथा फेरोमोन ट्र्याप जडान गर्ने व्यावहारिक खेत प्रदर्शन रहेको थियो। यसमार्फत किसानहरूले आईपीएम प्रविधिको प्रत्यक्ष अनुभव र व्यावहारिक ज्ञान प्राप्त गरेका थिए।
कार्यक्रमको समापन अन्तरक्रियात्मक सत्रमार्फत गरिएको थियो, जहाँ किसानहरूले खेतस्तरमा सामना गरिरहेका समस्याहरू प्रस्तुत गरे। विज्ञहरूले दिगो बाली संरक्षणका उपायहरूबारे आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल