
गान्तोक, 05 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रदेश अध्यक्ष डा. डीआर थापाले स्थानीय बासिन्दाहरूको पटक-पटक उठाउँदै आएका माग र चिन्ताहरूलाई सम्बोधन गर्दै आज पार्टीका पदाधिकारीहरूसहित भुसुक खोलास्थित लम्बित रोरे छु स्टिल पुल परियोजनास्थलको निरीक्षण गरे। उक्त जानकारी आज प्रदेश भाजपाले एक प्रेस विज्ञप्तिमा दिएको छ।
भाजपा सिक्किम अध्यक्षले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिँदै निर्माण कार्यमा भएको ढिलाइका कारणहरूबारे जानकारी लिए। विज्ञप्तिका अनुसार, २०१७ मा ठेक्का आह्वान गरिएको उक्त पुल परियोजना वर्षौं बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीय बासिन्दाहरूले विभिन्न असुविधा भोग्नुपरेको छ। निरीक्षणका क्रममा थापाले निर्माण कार्यको वर्तमान अवस्था तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूबारे साइट सुपरभाइजर र कर्मचारीहरूसँग विस्तृत छलफल गरे।
अध्यक्ष थापालाई बाँकी रहेका निर्माण कार्यहरू आगामी एक महिनाभित्र सम्पन्न गरिने जानकारी दिएको बताइएको छ। उक्त प्रतिबद्धताको स्वागत गर्दै उनले परियोजना समयमै सम्पन्न हुनु आवश्यक रहेको बताए। साथै, निर्माणको गुणस्तर, सुरक्षा र दीर्घकालीन मजबुतीलाई सर्वोच्च प्राथमिकतामा राखिनुपर्नेमा उनले जोड दिए। स्थानीय बासिन्दाहरूले निरीक्षणप्रति आभार व्यक्त गर्दै पुलको निर्माण कार्य अब छिट्टै सम्पन्न भई सर्वसाधारणको प्रयोगका लागि खुल्ला हुने आशा व्यक्त गरेकाे विज्ञप्तिमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल