
- पर्यावरण स्वच्छताको साथमा हाम्रो मन पनि स्वच्छ हुनुपर्छ: सोनाम लामा
खरसाङ, 05 जून (हि.स.)। खरसाङ नगरपालिका र वन विभागको आयोजना तथा दार्जिलिङ हिमालयन रेलवे र गैर सरकारी संस्था खरसाङ हेल्पको तत्वावधानमा आज खरसाङमा विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा वृक्षरोपणको साथमा खरसाङ बजार क्षेत्रमा सर सफाई पनि गरियो।
कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। यसैगरी, विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, डीएफओ खरसाङ आईएफएस देवेश पाण्डे, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरझा अनिस शाह, विद्युत विभाग महकुमा अधिकारी सन्दीप तामाङ, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती लगायत अन्यहरु उपस्थित रहेका थिए।
खरसाङको रेलवे स्टेशन परिसरमा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथि विधायक लामाले भने, 'विश्व पर्यावरण दिवसको अवसरमा हामी अबदेखि खरसाङमा सिंगल युज पोलिथिन ब्याग प्रयोग नगर्ने प्रण गरौं। यो आजदेखि होइन तर विस्तारै शुरु गर्दै जानुपर्छ। उनले यसपालीको थिम आमाको नाममा एउटा रुख विषयमा बोल्दै सबैले आफुलाई जन्म दिने आमाको नाममा एउटा रुख रोपौं भनी आह्वान गरे। विधायक लामाले भने, सरकारले मात्र गर्नु सक्दैन, जनताले पनि साथ र सहयोग गरे सबै सम्भव हुन्छ।
लामाले 20-22 वर्ष अघि आफुले यही ठाउँबाट खरसाङको लागि केही गर्छु भनेर खरसाङ हेल्प नामक एनजीओ गठन गरेको र आज आएर आफु खरसाङको विधायकको रुपमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए। उनले भने, 'हाम्रो परिवेश स्वच्छ राख्नु महत्वपूर्ण हुन्छ, तर हाम्रो सोच पनि स्वच्छ हुन आवश्यक छ।'
कार्यक्रममा डीएफओ देवेस पाण्डे, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरीले पनि सम्बोधन गरेका थिए। विश्व पर्यावरण दिवसको कार्यक्रम समापनपछि खरसाङ रेलवे स्टेशन नजिक क्षेत्र र नयाँ बजारस्थित सार्वजनिक भवन नजिक वृक्षरोपण गरिएको थियो। यस अवसरमा मुख्य अतिथि विधायक लामा लगायत उपस्थित अतिथिहरुले विरुपा लगाए।
हिन्दुस्थान समाचार / हनोक