
गान्तोक, 05 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को राज्यभरि भइरहेको सांगठानिक सभाको क्रममा पूर्व सिक्किमको पाकिम र गान्तोक जिल्ला समितिको एउटा विशेष सभा पाकिम, ट्याङकीलाखामा बिहिबार सम्पन्न गरियो। एसडीएफका अध्यक्ष पवन चामलिङको अध्यक्षतामा आयोजित उक्त सभामा दुवै जिल्ला समितिका पदाधिकारीलगायत स्थानीय जनगणको बाक्लो उपस्थिति रहेको थियो। उक्त जानकारी आज बिहान एसडीएफ प्रचार प्रसार वरिष्ठ उपाध्यक्ष अम्बर राईले दिएका छन्।
सभालाई सम्बोधन गर्दै पवन चामलिङले पार्टी कार्यकर्ताहरू पीडित जनताको साँचो सहयोगी बनी कुशासनको विरूद्ध लड्न सदैव तत्पर रहनुपर्छ भनी दिशा निर्देशन दिए। अहिले सिक्किम सरकार सिक्किमे जनताको हितमा नरहेको आरोप लगाउँदै उनले भने, ‘अहिले सरकार जाँतो कम्मरमा बाँधेर टिस्टा नदीमा हाम फालेको मान्छेजस्तो भएको छ। यस्तो आफै मजबुर भइसकेको सरकारबाट सिक्किमे जनताले सुगम वर्तमान र सुन्दर भविष्यको आशा राख्नु बेकार हो।’
उनले भने, ‘पहिले नै एसडीएफले विकासको कुलो खनेर जनताका घर घरसम्म पुऱ्याइदिएका छौं, जनताले विकासको कुलोलाई रेखदेख गर्नुपर्छ। जनताले नै यस कुलो बिगार्ने गङ्गटाहरूलाई चिनेर मास्नुपर्छ नत्र बाली बिगार्छ। आज त्यही गङ्गटाहरूले जनताको जीवनमा आउने सुख र समृद्धिको कुलो आ-आफ्ना घरतिर फर्काएका छन्। त्यसैले सिक्किमे जनताले साह्रै दुःख पाइरहेका छन्।’
एसडीएफ अध्यक्षले भने, 'सरकार भनेको व्यवस्था हो जो नियम र नीतिले सञ्चालित हुन्छ अनि सामाजिक, आर्थिक, साँस्कृतिक तथा शैक्षिक आदि क्षेत्रमा कार्य निष्पादन गर्छ। तर अहिले व्यक्ति विशेषको पक्षपोषणमा सरकार समर्पित भइरहेको अवस्था छ । यो अति नै जनघाती अवस्था हो। पहिले विकेन्द्रीकरण गरिएको स्थानीय सरकार पञ्चायती व्यवस्थालाई अहिले केन्द्रीकृत गरी सत्ताले खेलाई खेलाई जनतालाई धोका दिइरहेको छ।' उनले अहिले सिक्किम सरकार जनसरोकारको मूलबाटो भुलेर व्यक्ति विशेषको आकाङक्षामा सङ्कुचित बनेको आरोप पनि लगाए।
हिन्दुस्थान समाचार / बिशाल