सोनादा डिग्री कलेजमा ‘एउटा रुख, आमाको नाम’ कार्यक्रम सम्पन्न
सोनादा डिग्री कलेजमा  ‘एउटा रुख, आमाको नाम’ कार्यक्रम सम्पन्न


सोनादा, 05 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा “एउटा रुख, आमाको नाम” नारासहित सोनादा डिग्री कलेजको राष्ट्रिय सेवा योजना (एनएसएस) एकाइद्वारा विविध कार्यक्रमहरूको आयोजना गरी दिवस उत्साहपूर्वक मनाइएको छ। कार्यक्रमको पहिलो चरण कलेजको प्रेक्षागृहमा कलेजका प्राचार्य डा. योगेश खातीको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा प्रा. रतिका सुब्बा, विशाल राई (जिरो वेस्ट आन्दोलनका अभियन्ता) तथा डा. योगेश खातीले पर्यावरण संरक्षण, स्वच्छताका विविध पक्षबारे आफ्ना विचार व्यक्त गरे। विशेष वक्ताका रूपमा उपस्थित विशाल राईले आफ्नो क्षेत्रलाई फोहोरमुक्त बनाउने उपायहरूबारे विस्तृत जानकारी दिँदै स्थानीय बासिन्दाहरूको सामूहिक प्रयासबाट आफ्नो गाउँ राजाघट्टा बस्तीलाई कसरी फोहोरशून्य बनाउन सफल भएको अनुभव सहभागीहरूमाझ साझा गरेका थिए। उनले पर्यावरण संरक्षणका लागि व्यक्तिगत तथा सामुदायिक दुवै तहमा सचेतना र सक्रिय सहभागिता आवश्यक रहेको कुरामा जोड दिए।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत कलेजका प्राचार्य, शिक्षण तथा अशिक्षण कर्मचारीहरू र विद्यार्थीहरूले संयुक्त रूपमा कलेज परिसरमा विभिन्न प्रजातिका वृक्षका बिरुवाहरू रोपण गरेका थिए। यस अवसरमा विद्यार्थीहरूमाझ “पर्यावरण संरक्षण” विषयक बस-चित्र बनाउ (सिट एण्ड ड्रइङ) प्रतियोगिता पनि आयोजना गरियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो।

पर्यावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्दै हरित वातावरण निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले विद्यार्थी तथा सहभागीहरूमा प्रकृतिप्रति उत्तरदायित्व र संरक्षणको भावनालाई थप सुदृढ बनाएको प्रा. मेघनाथ छेत्रीले जनाएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande