
सोरेङ, 05 जून (हि.स.)। हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले 10औं र 12औं श्रेणीको बोर्ड परीक्षामा सोरेङ-च्याखुङ समष्टिबाट टप्पर बन्ने विद्यार्थीलाई आज एक कार्यक्रमबिच छात्रवृत्ति प्रदान गरेको छ।
सोरेङ जिल्लाको थर्पु उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र 2025-26 अन्तर्गत बाह्रौं श्रेणीको परीक्षामा 93.6 प्रतिशत अंक प्राप्त गरि समष्टि मै टप्पर बनेका थर्पु स्कूलका छात्र योगेश शर्मा र दसौं श्रेणीमा 87.8 प्रतिशत अंक प्राप्त गरेकी थर्पु स्कूलकी छात्रा रिया छेत्रीलाई हेमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले आज छात्रवृत्ति प्रदान गरेको हो। यसपटक दुवै टप्पर बन्ने विद्यार्थीहरु थर्पु उच्चतर माध्यमिक विद्यालयबाट रहेका छन्।
उनीहरुलाई सूचना तथा जनसम्पर्क विभागका सल्लाहकार एसबी सुब्बाको बाहुलीबाट उक्त छात्रवृत्ति प्रदान गरियो। सल्लाहकार सुब्बा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले मेधावी विद्यार्थीमा शिक्षा क्षेत्रमा थप अभिप्रेरित गर्न र विद्यार्थीबिच सकारात्मक प्रतिस्पर्धा र परिश्रमको भाव सिर्जना गर्न 2006 देखि नै सोरेङ-च्याखुङ समष्टिबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रतिवर्ष छात्रवृत्ति प्रदान गर्दैआएका छन्।
कार्यक्रममा मुख्य अतिथि सुब्बाले छात्रवृत्ति प्राप्त गर्नै दुवै विद्यार्थीहरु, उनको अभिभावक र शिक्षक-शिक्षिकालाई बधाई अनि शुभकामना व्यक्त गर्दै वर्तमानको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरुले कडा मेहनत र परिश्रम गर्नुपर्ने बताए। यसरी नै वरिष्ठ शिक्षक डीके भण्डारीले सोसाइटीको स्थापनाको लक्ष्य र उदेश्यबारे प्रकाश पार्दै सोसाइटीले सोरेङ-च्याखुङ समष्टिका अब्बल विद्यार्थीहरुलाई प्रेरणा दिँदै आइरहेको बताए। कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्न दवै विद्यार्थीहरुले आफ्नो सफलता पछाडिको मेहनत र अनुभवहरु मञ्चबाट साझा गरेका थिए।
स्मरण रहोस्, हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुको स्थापना 2006 मा भएको हो। थर्पु निवासी तथा पूर्व शिक्षा मन्त्री आरबी सुब्बा र उनको पारिवारिक सदस्यहरुले आफ्ना दिवंगत पिता हिमाकर्ण सुब्बा र माता सञ्चरानी सुब्बाको पुण्य स्मृतिमा हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीको स्थापना गरी सोरेङ-च्याखुङ समष्टि अन्तर्गत सरकारी विद्यालयबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेर टप्पर बन्ने विद्यार्थीलाई प्रेरणा स्वरूप छात्रवृत्ति प्रदान गर्दैआएका छन्।
हिन्दुस्थान समाचार / बिशाल