
गान्तोक, 07 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा राजनीतिक सचिवद्वय जेकब खालिङ र बिकास बस्नेतले दुर्भाग्यपूर्ण राष्ट्रिय राजमार्ग 10 घटनामा ज्यान गुमाएका पीडितहरूका शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली र हार्दिक समवेदना व्यक्त गरेका छन्। उनीहरूले आज सिलगढीस्थित उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पुगेर सिक्किम सरकार र राज्यका जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गरे। उनीहरूसॅंग ओएसडी आजाद भोटिया र ओएसडी लाजाङ भोटिया पनि थिए।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, 5 जूनका दिन सिलगढी जाने क्रममा एउटा सवारी बेपत्ता बनेको थियो। एनडीआरएफ, पश्चिम बंगाल पुलिस, पश्चिम बंगाल ट्राफिक पुलिस र स्थानीय स्वयंसेवकहरूद्वारा गरिएको व्यापक खोजी अभियानपछि शुरुमा राजमार्गको पैह्रो जोखिम खण्ड नजिकै गाडीका केही भागहरू फेला परेका थिए। यसपछि, टिस्टा नदीमा गाडी फेला पऱ्यो, जहाँ दुर्घटनामा परेपछि खसेको बताइएको छ।
यस दुर्घटनामा परेर स्मारिका न्यौपाने, सब्या न्यौपाने, टीका दाहाल र दित्या छेत्रीको मृत्यु भएको छ। उनीहरू सबै काबी लुङचोक निर्वाचन क्षेत्रको लिङदोकका बासिन्दा थिए। उनीहरूको असामयिक निधनले राज्य स्तब्ध बनेको प्रेस विज्ञप्तिमा उल्लेख छ। कानुनी औपचारिकताहरू र पोस्टमार्टम जाँचहरू पूरा भएपछि पार्थिव शरीर सिलगढीमा उनीहरूका परिवारका सदस्यहरू र आफन्तहरूले प्राप्त गरे भने अन्तिम संस्कारको लागि सिक्किम ल्याएको छ।
सिलगढीका विधायक तथा पश्चिम बंगाल सरकारका मन्त्री शंकर घोष पनि शवगृह भ्रमण गरेर सबै आवश्यक औपचारिकताहरू छिटो पूरा गर्न चिकित्सा अधिकारीहरू र सम्बन्धित अधिकारीहरूसँग व्यक्तिगत रूपमा कुरा गरेको बताइएको छ। उनले शोकसन्तप्त परिवारहरूप्रति हार्दिक सहानुभूति र समवेदना व्यक्त गरे। यसैगरी, उनले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग टेलिफोन वार्ता गरेर समवेदना व्यक्त गर्दै सबै सम्भव सहयोगको आश्वासन दिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल