मुख्यमन्त्रीले टिस्टा दुर्घटनाप्रति दुःख व्यक्त गरे, सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरे
मुख्यमन्त्रीले टिस्टा दुर्घटनाप्रति दुःख व्यक्त गरे, सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरे


गान्तोक, 07 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय राजमार्ग १०ए मा दुर्घटनामा परेर एक नाबालिकसहित सिक्किमका चार जनाले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको लागि प्रार्थना गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, 'सिलगढ़ीतर्फ यात्रा गर्ने क्रममा 5 जूनका दिन भएको दुःखद दुर्घटनामा परेर काबी-लुङचोक निर्वाचन क्षेत्रको लिङ्डोक निवासी चार जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी र मर्माहत भएका छौँ। यस अपार दुःखको घडीमा शोकसन्तप्त परिवारप्रति म हार्दिक समवेदना व्यक्त गर्दछु। उनीहरूले यो अपूरणीय क्षति सहन सक्ने शक्ति र साहस प्राप्त गरून् भन्ने कामना गर्दछु। साथै, दिवंगत आत्माहरूको चिरशान्तिको प्रार्थना गर्दछु।'

मुख्यमन्त्रीले खोज तथा उद्धार अभियानका क्रममा अथक प्रयास र सहयोगका लागि पश्चिम बङ्गाल सरकार, पश्चिम बङ्गाल पुलिस, ट्राफिक पुलिस, एनडीआरएफ, टिस्टा रिभर राफ्टाङ कमिटी, समाजसेवीहरू तथा स्थानीय बासिन्दाप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्।मुख्यमन्त्रीले यो दुःखद घटना मनसुनको समयमा यात्रा गर्दा हुन सक्ने जोखिमहरूको पीडादायी स्मरण रहेको बताएका छन्। उनले सबैलाई अत्यन्त सतर्कता अपनाउन, अत्यावश्यक नभएसम्म यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे नियमित जानकारी लिन तथा सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न अनुरोध गरेका छन्। उनले थोरै अतिरिक्त सावधानीले यस्ता हृदयविदारक घटनाहरू रोक्न र आफ्ना प्रियजनहरूको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्न सक्ने उल्लेख गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande