
गान्तोक, 07 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले हिजो केन्द्रिय सड़क यातायात तथा राजमार्ग राज्यमन्त्री अजय टाम्टासँग राजधानीमा शिष्टाचार भेट गरे।
थापाले मन्त्रीलाई हार्दिक स्वागत गर्दै सिक्किममा सडक पूर्वाधार सुदृढीकरणका लागि निरन्तर प्रतिबद्धताका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय मन्त्री नितिन गडकरीप्रति हार्दिक आभार व्यक्त गरे। उनले केन्द्र सरकारको निरन्तर सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित प्रयासले राज्यको विकासलाई तीव्र बनाउनुका साथै जनजीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको बताए।
केन्द्रिय राज्यमन्त्री टाम्टाले मन्त्रालयले हाल सिक्किममा करिब ८,३७६ करोड़ रुपियाँ बराबरका सड़क पूर्वाधार आयोजनाहरू कार्यान्वयन तथा अगाडि बढाइरहेको जानकारी दिए। उनले सम्पन्न, निर्माणाधीन तथा स्वीकृत सड़क परियोजनाहरूमा राज्यमा गरिएको कुल लगानी १०,९०१ करोड़ रुपियाँभन्दा बढी पुगेको बताए।
प्रदेश अध्यक्ष थापाले उत्तर सिक्किमका जनताले ग्लोफपछि सड़क सम्पर्क विच्छेद हुँदा भोगिरहेका कठिनाइबारे मन्त्रीको ध्यानाकर्षण गराए। साथै, सिक्किमको संवेदनशील हिमाली भूगोलमा सड़क निर्माणका क्रममा देखिने चुनौतीहरूको चर्चा गर्दै दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न तथा अवरोध न्यून गर्न पर्यावरणमैत्री र दिगो अभियान्त्रिकी समाधान अपनाउन मन्त्रालयसँग आग्रह गरे।
केन्द्रिय राज्यमन्त्रीले यी विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने आश्वासन दिँदै सिक्किमका जनताका लागि दिगो तथा आपदा-प्रतिरोधी पूर्वाधार निर्माणप्रति केन्द्र सरकार प्रतिबद्ध रहेको बताए।
---------------
हिन्दुस्थान समाचार / बिशाल