
गेजिङ, 07 जून (हि.स.)। सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टी. भोटियाले आज युक्सम टाशीडिङ निर्वाचन क्षेत्रको लाब्दाङ गाउॅंमा स्थापना गरिएको प्लास्टिक फोहोर प्रबन्धन एकाईको उद्घाटन गरे।
राज्य सरकारको स्वच्छ भारत मिसन पहलको एक भागको रूपमा ग्रामीण विकास विभाग अन्तर्गत निर्माण गरिएको यो एकाइ गाउँबाट प्लास्टिक फोहोरको पुन: प्रयोग र उचित व्यवस्थापनलाई सहज बनाउन, अनुचित विसर्जनबाट हुने पर्यावरणीय क्षतिलाई रोक्नको लागि स्थापना गरिएको हो।
उद्घाटन पछि मन्त्रीले सुविधाको निरीक्षण गरे तथा ग्राम पञ्चायत र आरडीडीको पहलको प्रशंसा गरे। मन्त्रीले भने, प्लास्टिक फोहोरको नकारात्मक प्रभावलाई कम गर्न यस्ता पहलहरू महत्त्वपूर्ण छन्। उचित पृथकीकरण, पुन: प्रयोग र उपयोग महत्त्वपूर्ण छन्। प्रत्येक गाउँमा यस्ता एकाइहरू स्थापना गर्न आवश्यक छ।
पछि, मन्त्री भोटियाले लाब्दाङमा सिक्किम गरीब आवास योजना अन्तर्गत नवनिर्मित घरको पनि उद्घाटन गरे। गाउँलेहरूलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा सिक्किम सरकारले कार्यान्वयन गरिरहेका विभिन्न कल्याणकारी योजनाहरूमाथि प्रकाश पारे। उनले समाजका आर्थिक रूपमा कमजोर वर्गहरूलाई सुरक्षित र स्थायी आवास प्रदान गर्ने उद्देश्यले एसजीएवाईको महत्त्वमा जोड दिए। मन्त्रीले लाभार्थी परिवारलाई घर हस्तान्तरण गर्दै बधाई दिए।
आफ्नो भ्रमणको क्रममा मन्त्री भोटियाले गाउँमा चलिरहेका विभिन्न पूर्वाधार विकास परियोजनाहरूको पनि निरीक्षण गरे, जसमा पर्यटन तथा नागरिक उड्डयन विभागको मेगा होमस्टे परियोजना अन्तर्गत निर्माण भइरहेका होमस्टेहरू पनि समावेश थिए। उनले सम्बन्धित अधिकारीहरूलाई सबै परियोजनाहरू समयमै सम्पन्न गर्न निर्देशन दिए।
हिन्दुस्थान समाचार / बिशाल