
बीजापुर, 08 जून (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लामा नक्सलवादको प्रभाव कमजोर भइसकेपछि पनि निरन्तर रूपमा नक्सलविरुद्धका अभियान सञ्चालन भइरहेका छन्। गोप्य सूचनाका आधारमा हर्रा/अर्रा (पीडिया) गाउँ नजिकको जंगल क्षेत्रमा सञ्चालन गरिएको खोजी अभियानका क्रममा सोमबार ३ वटा आईईडी (इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस) र २ वटा नक्सली डम्प बरामद गरिएको छ।
यो कारबाही कमान्डेन्ट आनन्द कुमारको निर्देशनमा सम्पन्न गरिएको हो। बरामद डम्पहरूबाट गन पाउडर, जिलेटिन स्टिक, कमर्शियल डेटोनेटर तथा औषधिजन्य सामग्रीसहित जम्मा २१ प्रकारका नक्सली सामग्री फेला परेको छ, जसलाई नक्सलीहरूले लुकाएर राखेका थिए।
गोप्य सूचनाका आधारमा कमान्डेन्ट आनन्द कुमारको मार्गदर्शन तथा द्वितीय कमान अधिकारी कुमार नीरजको निगरानीमा एफ/१९९ कम्पनीले हर्रा/अर्रा (पीडिया) गाउँका घना जंगलहरूमा सघन खोजी अभियान सञ्चालन गरेको थियो। कम्पनी कमान्डर केबी पाण्डा को नेतृत्वमा सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा क्षेत्रलाई घेरा हालेर चरणबद्ध खोजी अभियान सञ्चालन गरेका थिए।
अभियानका क्रममा नक्सलीहरूले लुकाएर राखेका ३ वटा आईईडी र २ वटा डम्प फेला पारिएको थियो। डम्पहरूबाट आईईडी निर्माणमा प्रयोग हुने गन पाउडर, जिलेटिन स्टिक, कमर्शियल डेटोनेटरका साथै १५ प्रकारका चिकित्सकीय सामग्रीसहित कुल २१ प्रकारका नक्सली सामग्री बरामद गरी जफत गरिएको छ।
सुरक्षाबलका अनुसार हर्रा/अर्रा तथा आसपासका क्षेत्र पहिले नक्सली गतिविधिका दृष्टिले संवेदनशील मानिन्थे। तर, निरन्तर सञ्चालन गरिएका सुरक्षा अभियानका कारण अहिले यस क्षेत्रमा नक्सली प्रभाव लगभग समाप्त भइसकेको छ।
केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को १९९औँ बटालियनद्वारा गरिएको यस कारबाहीले स्थानीय बासिन्दामा सुरक्षाको भावना थप बलियो बनाएको छ।
सुरक्षाबलका अधिकारीहरूले आम नागरिकको सुरक्षा, शान्ति तथा विकास सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै भविष्यमा पनि यस्ता अभियानहरू अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी