
नगाउँ (असम), 08 जून (हि.स.)। सामगुड़ीको शिवस्थान बजारमा गए आइतवार राति भएको भयानक आगलागीको घटनामा 6 वटा पसलहरू जलेर खरानीमा परिणत भएको छ। आगोको चपेटमा परी लगभग 50 लाख रुपियाँको सम्पत्ति र सामान नष्ट भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो।
स्थानीय सूत्र अनुसार आधा रातमा अचानक बजारमा आगो लाग्यो जसले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो अनि वरिपरीका पसलहरूलाई आफ्नो चपेटमा लियो जसमा पसलहरूमा राखिएका लाखौं रुपियाँका सामग्रीहरू जलेर नष्ट भयो। तथापि आगलागीको वास्तविक कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।
घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगेर आगो निभाउने कार्यमा जुटे, तर आगोको तीव्रता अधिक भएको कारणले नियन्त्रण गर्न सम्भव भएन। प्रभावित पसलेहरूको भनाइ छ, वर्षौंको परिश्रम तथा पूँजी केही मिनटमै नष्ट भयो। यो नोक्सानले धेरै जना व्यापारीहरू गहिरो शोकमा डुबेका छन्।
स्थानीय मानिसहरूले आरोप लगाए, सूचना दिइए पनि निकटवर्ती सोनाइबाली अग्निशमन केन्द्रको टीम अबेर गरी घटनास्थलमा पुग्यो। यदि समयमै दमकल विभाग घटनास्थलमा पुगेको भए नोक्सानलाई केही हदसम्म कम गर्न सकिन्थ्यो।
यसबीच प्रशासनले मामिलाको जाँच शुरू गरेको छ। अधिकारीहरूद्वारा आगलागीको कारण थाहा पाउन जाँच शुरू गरिएको छ भने नोक्सानको विस्तृत मूल्याङ्कन गरिँदैछ। प्रशासनले प्रभवित पसलेहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा