दार्जिलिङमा पार्वतीय कर्मचारी संगठनले ४०औँ स्थापना दिवस मनायो
पार्वतीय कर्मचारी संगठनको ४०औँ स्थापना सम्पन्न


दार्जिलिङ, 08 जून (हि.स.)। पार्वतीय कर्मचारी संगठन (पाकसं) दार्जिलिङले आफ्नो ४०औँ स्थापना एवं एकता दिवस दार्जिलिङमा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। संगठनको चार दशक लामो यात्रा, एकता, समर्पण तथा कर्मचारी हितप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कर्मचारी प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि संगठनका संस्थापक सदस्य भीम थापा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा एनबी कालिकोटे र ठेण्डुप छिरिङ शेर्पा उपस्थित थिए। साथै, सरिता भण्डारी, कमल लिम्बू, संगठनका केन्द्रिय अध्यक्ष बीपी छेत्री, केन्द्रिय तथा महकुमा समितिका पदाधिकारीहरू, विभिन्न संस्थाका प्रतिनिधिहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि थुप्देन शेर्पाले संगठनको चार दशक लामो यात्राको प्रशंसा गर्दै कर्मचारीहरूको हकहित, एकता र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए। त्यसैगरी संगठनका केन्द्रिय अध्यक्ष बीपी छेत्रीले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनको उपलब्धि तथा भावी योजनाबारे जानकारी गराए।

कार्यक्रममा जीटीए लगायत विभिन्न विद्यालयका कर्मचारी प्रतिनिधिहरूले आ-आफ्नो प्रतिवेदन तथा धारणा प्रस्तुत गर्दै संगठनको भूमिका र कर्मचारी हितसम्बन्धी विषयमा प्रकाश पारेका थिए। चार दशकदेखि कर्मचारीहरूको अधिकार, कल्याण र एकताको पक्षमा निरन्तर क्रियाशील रहेको पार्वतीय कर्मचारी संगठनले स्थापना दिवसका अवसरमा संगठनको ऐतिहासिक योगदानलाई स्मरण गर्दै आगामी दिनहरूमा पनि कर्मचारी हितका मुद्दामा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस अवसरमा विभिन्न विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूले गीत-संगीत प्रस्तुत गरी सांस्कृतिक वातावरण सिर्जना गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande